अनलाइन माध्यमबाट बढ्दै वन्यजन्तुको अवैध कारोबार

विराटनगर, २९ भदौ । वन्यजन्तु तथा वन्यजन्तुका अंगहरूको अवैध कारोबारमा पछिल्लो समय अनलाइन माध्यमको प्रयोग बढ्दै गएको पाइएको छ । वन्यजन्तु तस्करहरूले अनलाइन माध्यमबाट कारोबार गर्न थालेसँगै यस क्षेत्रमा संगठित अपराधसमेत बढ्दै गएको संरक्षणकर्मीहरूले बताएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र यादवले वन्यजन्तु तस्करहरूले अनलाइन माध्यमको प्रयोग गरी अवैध कारोबार गर्न थालेको बताउनुभयो । यसअघि यस्तो कारोबारमा अनलाइन माध्यमको प्रयोग हुने अवस्था नरहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय संगठित अपराधसमेत बढ्दै गएको बताउनुभयो ।

अनलाइन माध्यमबाट हुने वन्यजन्तु तथा वन्यजन्तुका अंगहरूको अवैध कारोबार नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाउनुपर्ने यादवको भनाइ छ । वन्यजन्तु अपराधको स्वरूप परिवर्तन हुँदै गएकाले त्यसअनुसार नियन्त्रणका प्रयासलाई पनि प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

यादवका अनुसार कोशी टप्पुमा हाल ८५ वटा हात्ती, १६१ वटा अर्ना, एउटा बँदेल र दुई वटा गोही रहेका छन्। आर्थिक वर्ष २०८२र८३ मा कोशी टप्पुमा १२ हजार ८८३ पर्यटक भित्रिएका छन । सो अवधिमा ४३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदीले वन्यजन्तु संरक्षणलाई सहअस्तित्वसँग जोडेर समृद्धितर्फ अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार अहिले मुलुकको ४६ प्रतिशत वन क्षेत्र संरक्षित रहेको छ ।

कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले संरक्षण केन्द्रले एक वर्षमा २१५ वटा वन्यजन्तुको उद्धार गरेको जानकारी दिनुभयो । पछिल्लो समय मोरङको उर्लाबारीबाट हिउँ चितुवा, इलामबाट लियोपार्ड र सप्तरीको फत्तेपुरबाट बाघको उद्धार गरिएको उहाँले बताउनुभयो ।

गौतमका अनुसार कोशी प्रदेशमा पछिल्लो तीन वर्षमा सात वटा हात्तीको मृत्यु भएको छ। २०६२ सालदेखि हालसम्म प्रदेशमा ४५ वटा हात्ती मरेका छन ।

वन्यजन्तुबाट मानिसको मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति र काजक्रियाबापत २५ हजार रुपैयाँ दिने व्यवस्था रहेको गौतमले बताउनुभयो। मानव मृत्युका घटना शून्यमा झार्ने योजना रहेको उल्लेख गर्दै उहाँले अहिले मानव मृत्यु ९५ प्रतिशतले घटेको दाबी गर्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत तथा सूचना अधिकारी गोविन्द पोखरेलले वन्यजन्तु अपराध नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो। अपराध नियन्त्रण तथा वन्यजन्तु संरक्षणका विषयमा पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले पत्रकारसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।

वन्यजन्तु अपराध नियन्त्रणका विषयमा पत्रकारलाई समेत सहभागी गराएर सूचना आदानप्रदान तथा सहकार्य बढाउने उद्देश्यले कोषले सातवटै प्रदेशमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्य राखेको पोखरेलले जानकारी दिनुभयो ।

आइतबार कोशी टप्पुमा आयोजित वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा संरक्षणकर्मीहरूले वन्यजन्तु संरक्षण, अपराध नियन्त्रण, उद्धार तथा मानव–वन्यजन्तु सहअस्तित्वका विषयमा पत्रकारसँग छलफल गरेका थिए ।