भोटेकोशी बाढी पीडितका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), मोरङले भोटेकोशी बाढी पीडितका लागि ५४ लाख ६५ हजार ८३४ रुपैयाँ सहयोग जम्मा गरेको छ ।

हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख ३३ हजार ५५५ र हिसान केन्द्रीय समितिले बाढी पीडितका लागि प्रदान गर्ने राहत कोषमा २८ लाख ३२ हजार २७९ रुपैयाँ जम्मा गरिएको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिनुभयो ।

विपद्को यो कठिन परिस्थितिमा पीडितहरूको उद्धार र पुनःस्थापनाका लागि सरकारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउँदै हिसान मोरङले प्रभावित क्षेत्रमा द्रुत गतिमा पुनःस्थापना र पूर्वाधार निर्माणका कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको अध्यक्ष ढकालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा शिक्षादीप मा.विले १३ लाख ५२ हजार, अरनिको मा.विले १० लाख १ हजार १०१, विकेभीएमले १० लाख, मेरिल्याण्ड कलेजले ५ लाख ११ हजार १११, अर्किड मा.विले ५ लाख १ हजार ३४१, कान्तिपुर मा.विले ४ लाख ३५ हजार ६११, सगरमाथा मा.विले २ लाख १ हजार, ग्रीनल्याण्ड मा.विले १ लाख ५५ हजार ५५५, रेड स्टार मा.विले १ लाख ५५ हजार ५५५, सोम्स कलेजले ७९ हजार ५५५, भानु मा.विले २५ हजार, निहारिका कलेजले २५ हजार, लर्डबुद्ध कलेजले २६ हजार, सिद्धार्थ मा.विले ५ हजार ५ रुपैयाँ राहत कोषमा जम्मा गरेको हिसान मोरङका सल्लाहकार दिनेश दाहालले जानकारी दिनुभयो ।

हिसान मोरङमा ३४ कलेज आबद्ध रहेको उहाँले बताउनुभयो ।