खिलेश्वरी पत्रकारिता पुरस्कार शम्भु पोखरेललाई

विराटनगर २५ भदौ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले खिलेश्वरी पत्रकारिता पुरस्कार पत्रकार शम्भु पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा पीताम्बर–खिलेश्वरी प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कार कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार पोखरेललाई प्रदान गर्ने निर्णय गरिएको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको १४औँ बैठकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै पोखरेललाई यस वर्षको खिलेश्वरी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि ११ हजार रुपैयाँ नगद रहेको छ ।

महासंघ मोरङ शाखाका अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा विराटनगरमा सम्पन्न बैठकले पुरस्कार समर्पण कार्यक्रम शुक्रबार नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ ।

पीताम्बर–खिलेश्वरी प्रतिष्ठानद्वारा स्थापित खिलेश्वरी पत्रकारिता पुरस्कार हरेक बर्ष मोतिराम जयन्तीका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको छ ।

कार्यसमिति बैठकले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितका लागि राहत सहयोग गर्ने निर्णयसमेत गरेको छ । बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ मोरङ शाखाका तर्फबाट ३१ हजार ५ सय रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिनुभयो ।