विकासमा पक्षपात गरेको छैन, आवश्यकता अनुसारले काम गरेको छु : वडाध्यक्ष बस्नेत

विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष काजी बहादुर बस्नेत आफ्नो पाँचवर्षे कार्यकालको अन्तिम चरणमा हुनुहुन्छ । महानगरपालिकामै करिब तीन दशक कर्मचारीको रूपमा काम गरेको अनुभवसहित जनप्रतिनिधिको भूमिकामा आउनु भएका बस्नेतले आफ्नो कार्यकालमा वडाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिनुभयो । वडा कार्यालय निर्माण, सडक कालोपत्रे तथा ढलान, ग्राभेल, बाल उद्यान, ज्येष्ठ नागरिक पार्क, सडक बत्ती तथा खेलकुदमैत्री वडा निर्माणका काम भएका छन् । विद्यालयमा फर्निचर व्यवस्थापन, स्वास्थ्य शिविर तथा औषधि व्यवस्थापनलाई समेत प्राथमिकता दिईएको छ । वडाध्यक्ष वस्नेतसँग अरुणखवरले गरेको कुराकानीको सारसंक्षेप :-

लामो समय सरकारी सेवामा रहनुभयो । जागिरे र जनप्रतिनिधिमा के फरक हुने रैछ ?
जागिरे हुँदा लगाएको काम मात्रै गरिन्थ्यो । अहिले चाहिँ आफूले निर्णय गर्नुपर्छ । हिजो म जागिरे हुँदा म जवाफदेही ठाउँमा थिइनँ । म सामान्य कर्मचारीको रूपमा थिएँ । शाखा प्रमुख भएर बसियो होला, त्यतिबेला त्यो शाखा प्रमुखसम्मको मात्रै जवाफदेही हुनुपथ्र्यो, महानगरको जवाफदेही हुनुपर्दैनथ्यो । अहिले अध्यक्ष भएपछि चाहिँ के भयो भने कतिपय कुरा कानुनले नमिल्ने पनि गराउनुपर्ने हुन्छ । हिजो कानुनले नमिल्ने कुरा गराइँदैनथ्यो । आज चाहिँ कानुनले नमिल्ने कुरा पनि कतिपय समाजलाई राखेर गराउनुपर्ने  हुन्छ ।
५ वर्षे कार्यकालको अन्तिम बर्षमा हुनुहुन्छ । निर्वाचनताका गरेका घोषणाहरु के–के पुरा भए ?
पाँचवर्षे कार्यकालमा वडाध्यक्ष भएर आइरहँदा नयाँ अनुभव त गर्नैपर्ने त्यस्तो मेरो लागि त खास थिएन । किनभने पहिले म महानगरपालिकाकै कर्मचारी भएर २७–२८ वर्ष जागिरे जीवन बिताइसकेको हुँदा अब ऐन, नियम, कानुनका कुराहरू, अफिसियल कुराहरू धेरै मलाई थाहा थियो । एकदम नयाँ मान्छे फ्रेस आएर बसेको जस्तो अप्ठ्यारो मलाई भएन । मलाई सुरुमा के लाग्थ्यो भने हामी आफू जनप्रतिनिधि भइसकेपछि जे पनि सबै कुरो कम्प्लिट गर्छाैँ जस्तो लाग्थ्यो । तर आर्थिक अवस्थाको कारणले गर्दाखेरि हामीले त्यसरी चाहिँ सोचे जस्तो काम गर्न सकेनौँ । किनभने पहिले नै घाटा बजेट थियो । अघिल्लो कार्यकालकै र त्यसलाई परिपूर्ति गरेर अगाडि आइरहँदाखेरि हामीलाई मरेर बल्लबल्ल वडामा दुई करोड रुपैयाँ बजेट आएको थियो । यत्रो ठूलो वडा । बाटोघाटो अस्तव्यस्त थिए । अगाडिका साथीहरूलाई मैले दोष दिन त मिल्दैन । तर, पनि जति काम हुनुपथ्र्याे त्यति काम चाहिँ नभएको हो कि जस्तो महसुस भयो । जता गयो कहिँ नाला छैन, कहिँ ह्युम पाइप छैन, केही छैन, ग्राभेल छैन, सडक छैन । मान्छेहरू चाहिँ जुत्ता बोकेर, बालबच्चाहरू स्कुलको गाडीसम्म जुत्ता बोकेर आएर स्कुलमा जुत्ता लाउनुपर्ने परिस्थिति थियो । जताततै अँध्यारो थियो, पोलहरू गाडिएका थिएनन । खोला किनारमा प्रशस्त सुकुम्बासी बस्तीहरू थियो । अब त्यसलाई पनि हामीले म्यानेज गर्नुपर्ने थियो । मैले निर्वाचनताका घोषणा थियो १ नम्बर वडालाई उज्यालो वडामा परिणत गर्छु । मैले घोषणा गरेको थिएँ । वडा नम्बर १ लाई योगमय वडा बनाउँछु भनेर पनि घोषणा गरेको थिएँ । वडा कार्यालय नै व्यवस्थित थिएन । एकदमै सानो कन्जेस्टेड ठाउँमा, कर्मचारी बस्ने ठाउँ पनि थिएन । थोरै कर्मचारी पनि बस्ने ठाउँ थिएन । अनि जब कार्यालय नै राम्रो भएन भने हामीले के गर्न सक्छौँ भन्ने महसुस गरेर पहिला मैले कार्यालयलाई निर्माणलाई प्राथमिकता दिँए ।

करिब १४–१५ किलोमिटर कालोपत्रे निर्माण गरिएको छ । एक–डेढ किलोमिटर जति हामीले ढलान गर्याैँ । तीन–चार किलोमिटर ग्राभेल रोडहरू निर्माण गरिएको छ ।

वडाध्यक्ष भएर आएपछि अहिले सम्म तँपाइले गरेका मुख्य–मुख्य काम के हुन ?
पहिलो त वडा कार्यालय निर्माण हो । यसलाई हामीले अपाङ्गता मैत्री भवन निर्माण गरेका छौं । विराटनगर भरिमा सायदै लिफ्ट सिस्टमको सरकारी भवन यो नै पहिलो हुनुपर्छ । तर जेन्जी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, तोडफोड भएका अहिले हामीले सञ्चालनमा ल्याउन सकेका छैनौँ । साँघुरा बाटाहरूलाई ठूलो बनाउने काम भएको छ । वडा कार्यालय जाने बाटो एकदमै थिएन । एउटा सिटी पनि भित्र पुग्दैनथ्यो । त्यसलाई हामीले निर्माण गर्याैँ । करिब १४–१५ किलोमिटर कालोपत्रे निर्माण गरिएको छ । एक–डेढ किलोमिटर जति हामीले ढलान गर्याैँ । तीन–चार किलोमिटर ग्राभेल रोडहरू निर्माण गरिएको छ । बाल उद्यान निर्माणलाई अन्तिम अवस्थामा पुर्र्याएका छौं । १२–१५ कठ्ठामा ज्येष्ठ नागरिक पार्क निर्माण गर्दैछौँ । ज्येष्ठ नागरिक पार्क चाहिँ हामीले यो खोला छेउमा निर्माण गरिरहेका छौं । सङ्घीय बजेट पनि आएको थियो ७० लाख जति, त्यसले चाहिँ नि खोला पट्टि बाँधेर अहिले हामीले त्यो निर्माण गर्दैछौँ । वडा नम्बर १ लाई उज्यालो वडाको निर्माण गरेका छौँ । खेलकुद मैत्री वडा निर्माण गरेका छौँ । अपाङ्गता भएकाहरू, पछाडि पारिएका वर्गहरूलाई, दलितहरूलाई सबैलाई क्षमता विकास गर्ने काम गरेका छौँ ।

पूर्वाधार, सामाजिक क्षेत्रमा महत्वपूर्ण कामहरु हुँदाहुँदै गर्न नसकीएका काम हरु के छन् ?
हामीले नसकेका काम चाहिँ सिङ्घिया खोला करिडोर बनाउने हो । यो बनाउने मेरो उद्देश्य थियो । अब त्यसमा चाहिँ पैसा कहिँबाट उपलब्ध हुन सकेन । त्यसलाई चाहिँ खोलाको सीमा छुट्याएर, त्यो सीमाभित्र तलबाट तटबन्धन गरेर निर्माण गर्ने सोच थियो । (धनावतको फ्याक्ट्रीबाट पुष्पलाल चोकसम्म निस्किने एउटा सडक करिडोर बनाउने मुख्य लक्ष्य थियो । दोस्रो नहर जुन छ त्यसलाई चाहिँ व्यवस्थित रुपमा दुईतिरबाट मान्छे हिँड्न सक्ने र त्यसलाई चाहिँ ढलको रूपमा प्रयोग गरेर सारा ढल त्यहाँबाट निकास गराउने योजना बनाएको थिएँ । त्यो पनि पैसा मैले धेरैपल्ट प्रदेश सरकारसँग पनि भनेँ, त्यहाँबाट पनि उपलब्ध हुन सकेन । नहर वडाको बजेटले त केही सम्भव नै थिएन । यो दुइटा कुरा चाहिँ चाहेर पनि गर्न सकिएन । खेलकुदको क्षेत्रमा एउटा चाहिँ ब्याडमिन्टन कोर्ट बनाउन मन थियो । एउटा योगा भवन बनाउन मन थियो । धेरै कुराहरू थिए । तर अब त्यो चाहिँ सम्भव भएन, बजेट अभावको कारणले त्यो काम गर्न सकिएन ।

विराटनगर १ को मुख्य समस्याहरू चाहिँ के हुन ?
यो वडाको मुख्य समस्या भनेको सिङ्घिया खोला नै हो । बाढी आउने, खोलाका किनारमा घरहरू बनाएर बसेका छन् । त्यसलाई हामीले व्यवस्थित गर्न पनि सकेनौँ । सुकुम्बासी भनेर हटाउन पनि सकेनौँ । निकाल्न पनि सकेनौँ । निकालेर दिने ठाउँ पनि हामीसँग थिएन । नेपाल सरकारले सुकुम्बासी हो कि होइन भनेर यकिन गरिदिएन । हामी त यकिन गर्न सक्दैनौँ, किनभने हामीसँग मालपोतको रेकर्डहरू हुँदैन, केहीको रेकर्डहरू हुँदैन । व्यक्तिलाई हेरेर सुकुम्बासी हो भन्न मिलेन । खोला कटान खास समस्या छैन । अब डुबानको समस्या छैन । पहिले अलिअलि थियो । हामीले त्यसलाई व्यवस्थित गरिसक्यौँ ।

करको दायरा बढाउन काम के भयो ?
करको दायरामा ल्याउने कुराहरूमा हामीले एउटा टोली बनाएर व्यावसायिक मान्छेहरूलाई चाहिँ कर तिर्नुपर्छ । वडामा दर्ता हुनुपर्छ भनेर एउटा टोली नै घुमायौँ । बेलाबेलामा अहिले पनि घुमाइराखेका छौँ । केही मान्छेहरू जो दर्ता हुनुहुन्नथ्यो उहाँहरू आइराख्नुभएको पनि छ । बहाल करको कुरामा, हामीले सकेसम्म उहाँहरूलाई कन्भिन्स गरेर ल्याउने काम गरेका छौँ । तर तिर्नैपर्छ भनेर त्यसरी जबरजस्ती चाहिँ हामीले गरेका छैनौँ । गर्ने स्थिति पनि छैन । किनभने अब आज बस्छ, भोलि निस्किएर हिँड्छ, पर्सी बस्छ, अको दिन निस्किएर हिँड्या छ । अब संस्था या अफिसहरूको हकमा अलि सम्भव हुँदोरहेछ । अब व्यक्तिहरू बसेको चाहिँ घरवालाले पनि नतिर्ने, व्यक्तिले पनि नतिर्ने गर्दाखेरि अलि अप्ठ्यारो छ । त्यो चाहिँ हामीले कन्भिन्स गर्न नसकेको भन्दा पनि हुन्छ । अरू त अब मेरो वडामा खासगरीकन ठूलो अड्डा, अदालत, अफिसहरू त्यस्तो केही छैन। एउटा पूर्वाञ्चल विश्वविद्यालय छ । एउटा जिल्ला प्रहरी कार्यालय छ । अब दुइवटाले पैसा दिने कुरो भएन । अर्को कुरा मैले एउटा घोषणा गरेको थिएँ मदिरा पसलहरु दर्ता नगर्ने भनेर यो चाहिँ खोल्न इजाजत दिएको छैन । मेरो कार्यकालभरि इजाजत दिन्न पनि ।

शिक्षामा सुधार भएका कारण विद्यार्थी संख्या बढेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने कुरामा वडाले के कस्तो काम गरेको छ ?
शैक्षिक सुधारका कुरामा प्रत्येक विद्यालयमा हामीले आइसकेपछि नयाँ व्यवस्थापन समिति गठन गर्यौँ । पुरानो कमिटीको म्याद पनि सकिइसकेको थियो । नयाँ व्यवस्थापन कमिटी गठन गरेर राम्रो काम भइराख्या थियो । व्यवस्थापन समितिका साथीहरू स्कुल जाने, निरीक्षण गर्ने, हेर्ने गरिराख्नुभएको थियो । तर नेपाल सरकारले फेरि त्यो हटाइदियो । दुई जना मनोनीत गर्ने मान्छेहरू हटाइदियो, जसले गर्दाखेरि अलिकति असर परेको छ । किनभने अब त्यो जो विद्यार्थीको अभिभावक छ उ पढेलेखेको छैन । अब पढेलेखेको मान्छेलाई , बुझ्ने मान्छेलाई ल्याएर राख्ने व्यवस्था हटाइदियो । हाम्रो वडामा एउटा राधाकृष्ण मावि हो, दुइटा आधारभूत छन् । तीनवटैमा चाहिँ फर्निचर अभाव थियो । फर्निचरहरूको व्यवस्थापन गर्यौँ । नयाँ बाटो खोलेर बाटोको व्यवस्थापन गरियो । सयपत्री विद्यालय अगाडि हटिया लाग्थ्यो, एकदमै डिस्टर्ब थियो । त्यो हटियालाई हटाएर अर्को तफ व्यवस्थापन गरेपछि विद्यालयलाई पनि सहज भएको छ ।

विद्यालय सुधारका कामहरू गरिसकेपछि विद्यालयमा विद्यार्थी संख्या कत्तिको बढेको छ ?
विद्यार्थी संख्या बढेको छ अहिले । विद्यार्थी संख्या पहिलाको भन्दा बढेको छ, तीनटै विद्यालयमा बढेको छ । पहिला खोलाको कारणले सिङ्घिया खोलामा पुल थिएन । शिव आधारभूतमा आउनलाई । त्यो पुल बनेपछि एउटा सहजता भयो । अर्को शिक्षकहरूले घर–घरमा गएर कन्भिन्स गरेर पनि ल्याउने काम गर्नुभएको छ । शिक्षामा सुधार भएका कारण विद्यार्थी संख्या बढेको छ ।

अहिले हामीले कालोपत्रे छाडेर ढलानतिर जाँदैछौँ । आरसीसी ढलानतिर जाने । किनभने कालोपत्रे गर्ने मान्छे पनि नभेटिने, अब मेसिन प्रयोग गर्न पनि नपाउने उपभोक्ताहरूले गठन गर्दाखेरि । त्यसकारण यो वर्ष हामीले कालोपत्रे राख्दै राखेनौँ ।

तपाईंको कार्यकालमा १४ किलोमिटर सडक कालोपत्रे भयो भन्नुभयो । वडा नम्बर १ मा सबै सडक कालोपत्रे भएको हो ?
होइन । छ नि बाँकी । खोला साइडमा बाँकी छ । अहिले हामीले कालोपत्रे छाडेर ढलानतिर जाँदैछौँ । आरसीसी ढलानतिर जाने । किनभने कालोपत्रे गर्ने मान्छे पनि नभेटिने, अब मेसिन प्रयोग गर्न पनि नपाउने उपभोक्ताहरूले गठन गर्दाखेरि । त्यसकारण यो वर्ष हामीले कालोपत्रे राख्दै राखेनौँ । गत वर्षका कालोपत्रे बाँकी छन्, ती हुन्छन । यो आर्थिक वर्षको बजेटमा हामीले कालोपत्रे राखेका छैनौँ । सबलाई आरसीसी ढलान गरिदिने, त्यो चाहिँ सजिलो पनि हुँदोरहेछ, अलि दरो पनि हुँदोरहेछ भन्ने महसुस भयो ।

स्वास्थ्यको क्षेत्रमा के भयो ?
म आफैँ महानगरपालिका सामाजिक विकास समितिको संयोजक पनि हो । स्वास्थ्य शिविरहरू प्रत्येक वर्ष हामीले लगाउने गरेका छौँ । वडा–वडामा प्रत्येक वर्ष हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ हामी आइसकेपछि । अहिलेसम्म भइ नै रहेको छ । यो वर्ष पनि बजेट राखेका छौँ । औषधी चाहिँ टेन्डर प्रकृयाबाट गर्दाखेरि ढिलो भएकोले हामीले फेरि तुरुन्त निर्णय गरेर औषधीहरू मगाएर वडा–वडामा पठाइसकेका छौँ । सिटामोल पनि नपाउने स्थिति भइसकेको थियो, तर अहिले सबै वडामा औषधी गइसकेको छ । हामीले सकेसम्म शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता महानगरले नै राखेको हुँदाखेरि यसमा के गर्न सकिन्छ, त्यसमा हामीले कमजोरी गरेका छैनौँ । भर्खरै हामीले ल्याब पनि रानीमा खोल्यौँ । अस्ति उद्घाटन पनि भयो ।

कार्यकाललाई आफैँले मू्ल्याङ्कन गर्दा कस्तो अनुभूति. हुन्छ ?
मैले देखेसम्म, मैले बुझेसम्म र मैले जानेसम्म आम जनतालाई कहिँ तल–माथि नगरिकन पक्षपात नगरिकन जहाँ जे आवश्यकता हो त्यो चाहिँ मलाई मेरो ब्रह्मले देखे अनुसारले काम गरेको छु । काम गर्दै जाँदाखेरि सबभन्दा ठूलो भनेको बजेट नै रहेछ । भन्न त ईश्वरले भन्छन् रे तँ चिता म पुर्याउँछुु भन्छन् रे भन्थे, तर अब यहाँ त चिताएर पनि बजेट नभएपछि नपुग्दोरहेछ । काम गर्न पाएको भए वडामा चाहिँ नि एउटा इतिहास रहन्थ्यो भन्ने खालका १–२ वटा काम चाहिँ गर्न सकिएन बजेटको अभावको कारणले, मैले त्यो अघि पनि भनेँ । तर समग्रमा हेर्दाखेरि चाहिँ आफू सन्तुष्ट छु ।

प्रसङ्ग बदलौं, वडा अध्यक्ष नै भएका कारणले जेनजी आन्दोलनका क्रममा तपाईंले एउटा ठूलो भौतिक क्षति भोग्नुपर्यो । त्यसलाई तपाईंले कसरी लिनुभएको छ ?

मेरो घर तोडफोड हुनु । आगजनी हुनु । मेरो वडा आगजनी हुनु अनि मेरो वडामा भएका माननीयहरूको घर आगजनी हुनु यो एउटा षड्यन्त्रभित्र नै परेको हो । अब मेरो बदमासीको कारणले भएको भन्ने मलाई लाग्दैन । अब सबैको चित्त बुझाउन सकिएन होला । अब कसलाई कहाँ कसरी हानौँ भन्ने भइराखेको थियो, त्यही मौका पारेर हाने । फेरि त्यो दिन म घरमा पनि थिइनँ । त्यसले गर्दाखेरि त्यसलाई मैले अब जे नहुनुथ्यो भइसकेपछि त्यसमा चिन्ता गरेर पनि हुने के र, हैन ? अब जसले गर्यो त्यसलाई पक्कै पश्चाताप हुन्छ भन्ने मैले आशा गरेको छु ।