विराटनगर १७ भदौ । विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यस वर्षको ५९ औँ संस्करणको रथयात्रामा पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । रथयात्राका क्रममा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग संकलन गर्न तीन वटा दानपेटीसमेत नगर परिक्रमा गराइने भएको छ ।
राधाकृष्ण रथयात्रा समारोह समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस वर्षको रथयात्राबारे जानकारी दिएको हो । समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् भदौ २० गते शनिबार दिउँसो ३ः३० बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिनेछ ।
रथयात्राका क्रममा संकलन हुने दानपेटीको सम्पूर्ण रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगमा उपलब्ध गराइने अध्यक्ष रेग्मीले जानकारी दिए । धार्मिक उत्सवसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस वर्ष दानपेटी राखिएको उनले बताए ।
राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै कोसी राजमार्गतर्फ जानेछ । त्यसपछि बरगाछी हुँदै पूर्वतर्फ दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा आएपछि रथयात्रा सम्पन्न हुनेछ । रथयात्राले करिब आठ किलोमिटर दूरी तय गर्नेछ भने बाटोमा रथले ४४ स्थानमा विश्राम लिनेछ ।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको व्यापक परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनले रथयात्रामा सहभागी हुने भक्तजनलाई महँगा गरगहना नलगाउन आग्रह गर्दै बालबालिका तथा वृद्धवृद्धालाई सकेसम्म भिडभाडमा नल्याउन अनुरोध गरे ।
विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास लामो छ । विक्रम संवत् १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएकै वर्षदेखि राधाकृष्णको मूर्ति ‘खट’ मा राखेर यात्रा निकाल्ने परम्परा सुरु भएको थियो । २०२५ सालदेखि रथ निर्माण गरी ‘खट यात्रा’ लाई रथयात्राका रूपमा सञ्चालन गर्न थालिएको हो ।
पेगोडा शैलीमा निर्माण गरिएको रथ १९ फिट लामो, १४ फिट चौडा र २१ फिट ३ इन्च अग्लो छ । रथको जुवाको भाग आठ फिट रहेको छ । रथको अग्रभागमा जुवाबाट दायाँ र बायाँतर्फ १६५ फिट लामो डोरी राखिएको हुन्छ । उक्त डोरी समाएर रथ तान्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
रथयात्रामा विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संस्कृतिको प्रतिनिधित्व गर्ने झाँकी र भजन मण्डली सहभागी हुनेछन् । नेपालका विभिन्न स्थानसँगै भारतका विभिन्न क्षेत्रबाट समेत लाखौँ भक्तजन राधाकृष्ण रथयात्रामा सहभागी हुँदै आएका छन् ।