विराटनगर १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको छ ।
जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुनुहुन्छ भने सिंह विज्ञान संकायकी प्राध्यापक हुनुहुन्छ ।
पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त भएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन् । नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभयो ।
उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।