भोटेकोशी बाढीपीडितका लागि आकृति एडभर्टाइजिङद्वारा ५ लाख ५५ हजार सहयोग

विराटनगर १५ भदौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित आकृति एडभर्टाइजिङले आर्थिक सहयोग गरेको   छ ।

आकृति एडभर्टाइजिङका प्रबन्ध निर्देशक मनोज चौहानले ५ लाख ५५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो । सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरिएको हो ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको चौहानले बताउनुभयो । विपद्का बेला पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले आफ्नो तर्फबाट सहयोग गरिएको उहाँको भनाइ छ ।