पहिचान हुन नसकेको शवको जमिनमुनि व्यवस्थापन शुरु

विराटनगर १५ भदौ । भोटेकोशी हिमबाढीमा परी मृत्यु भएकाको शव तत्काल सनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ ।

मृत मानव अङ्गलाई ‘बेवारिसे’ मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको जनाइएको छ ।

कतिपय शव सग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठुलो सङ्ख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले कानुनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रव्रिmया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रत्येक शवको तस्बिर, हुलिया, शरीरमा रहेका विशेष चिह्न, फरेन्सिक विवरण र डिएनए नमुना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागिएको स्पष्ट पार्नुभयो ।

प्रवक्ता काफ्लेका अनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय गरी यस्तो व्यवस्थापन गरिएकोहो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार बाढीबाट ल्याइएका धेरै शव क्षतविक्षत र कुहिएको अवस्थामा रहेकाले पहिचान गर्न कठिन भइरहेको छ ।