विराटनगर १४ भदौ । विपद्का बेला शव व्यवस्थापनमा हतार गर्न नहुने र मृतक तथा परिवारको धर्म, परम्परा, रीतिरिवाज तथा संस्कारअनुसार अन्तिम संस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिएका कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवा काज सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलालाई भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित टिमुरे क्षेत्रमा केन्द्रित भएर बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोज, उद्धार, राहत र शव व्यवस्थापनमा सहयोग गर्ने जिम्मेवारी दिइएको हो ।
जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्न उनलाई निर्देशन दिइएको छ । निरौलाले शनिबार सामाजिक सञ्जालमार्फत बाढीमा भेटिएका पहिचान नखुलेका शवलाई हतारमा गाड्न नहुने सुझाव दिएका थिए। उनले बेपत्ता व्यक्तिका आफन्त अझै ‘सास वा लास’ खोजिरहेको अवस्थामा पहिचानको अवसर नदिई शव व्यवस्थापन गर्दा परिवारको भावनामा चोट पुग्न सक्ने बताउनु भएको थियो । उहाँले आवश्यक परे ठूला फ्रिज तथा अन्य सामग्रीको प्रयोग गरी शव केही समय सुरक्षित राख्न सकिने सुझावसमेत दिनु भएको थियो ।
साथै मृतकको धर्म, परम्परा र संस्कारअनुसार सम्मानजनक अन्तिम संस्कारको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो । मोरङका प्रमुख जिल्ला अधिकारी हुँदा कोरोना महामारीका समयमा शव व्यवस्थापनमा अपनाइएको मानवीय र संवेदनशील अभ्यासको अनुभवसमेत उनले सार्वजनिक गरेका थिए । अहिले त्यही अनुभवका आधारमा उनलाई रसुवामा जिम्मेवारी दिइएको हो ।