मोरङ स्पोर्टिङ क्लबको अध्यक्षमा विशाल नेउपाने निर्विरोध

विराटनगर १४ भदौ । मोरङ स्पोर्टिङ क्लबको अध्यक्षमा विशाल नेउपाने निर्विरोध निर्वाचित हुनु भएको छ । क्लबको प्रथम वार्षिक साधारणसभा तथा निर्वाचनबाट नेउपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

विराटनगरमा आइतबार सम्पन्न साधारणसभाले क्लबको उपाध्यक्षमा डा. प्रेक्षा दली, सचिवमा सुवास घिमिरे, सह–सचिवमा सागरराज ढुंगाना र कोषाध्यक्षमा अनुष्का कार्कीलाई चयन गरेको छ । कार्यसमिति सदस्यमा सौरभ वानिया, सागर गिरी, सृजन प्याकुरेल र हिरन ढकाल चयन भएका छन् ।

साधारण सभाको उद्घाटन सत्रमा  डा. प्रेक्षा दलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की र विशिष्ट अतिथि विराटनगर–११ का वडा सदस्य बलराम कारञ्जितले क्लबको नयाँ नेतृत्वलाई शुभकामना दिनु भएको थियो । उपप्रमुख कार्कीले खेलकुदको विकाससँगै युवाको क्षमता र प्रतिभा प्रस्फुटनमा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने धारणा राख्दै आगामी दिनमा क्लबका गतिविधि थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

साधारण सभामा अध्यक्ष विशाल नेउपानेले क्लबको वार्षिक गतिविधि तथा आगामी कार्ययोजनासहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष सुरज तिमल्सिनाले आर्थिक गतिविधिसम्बन्धी लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

क्लबले साधारण सभालाई केवल संस्थागत गतिविधिमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोडेको छ । साधारण सभाको अवसरमा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष नेउपानेले क्लबलाई खेलकुद गतिविधिमा थप सक्रिय बनाउँदै स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकासमा जोड दिने बताउनुभयो । उहाँले खेलकुदसँगै सामाजिक क्षेत्रमा समेत क्लबका गतिविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोरङ स्पोर्टिङ क्लबले आगामी दिनमा विभिन्न खेलकुद प्रतियोगिता, खेलाडीको क्षमता विकास तथा सामाजिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।