देउवा समूहले १५ औँ महाधिवेशन छुट्टै गर्ने

विराटनगर १३ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन छुट्टै गर्ने जनाएको छ । सर्वाेच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा समूह आफ्नै ढङ्गले अघि बढ्ने निष्कर्षमा पुगेको हो ।

देउवा समूहका १५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक डा. शशाङ्क कोइरालाले विज्ञप्ति जारी गर्दै आधिकारिकताको मुद्दा अदालतमा विचारार्थ भएपनि मंसिरमा पदावधि सकिने भएकाले महाधिवेशनको तयारीमा लाग्न आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको आधिकारितताको विवाद सम्मानित सर्वाेच्च अदालतले आफ्नो कार्यविधि भित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुङ्गाउने र हामीले न्याय पाउने छौ भन्ने गहिरो विश्वास पनि रहेको छ ।’ केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी विवाद अदालतमा रहेको अवस्थामा पार्टीमा थप विवाद सिर्जना गर्ने वा पार्टीमा थप विभाजन र्पुयाउने गतिविधि कुनै पनि पक्षले गर्न नहुने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणका आधारमा मुद्दा किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरिएको निवेदनमा सर्वाेच्च अदालतबाट रोक्न आदेश नआए पनि चौथौँ महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरू गरी सबै तहका अधिवेशन गरिने छ ।’

अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने जानकारी गराएका छन्।

विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गने गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धी गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन । पार्टी संस्थापन पक्षले असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छन