विराटनगर १२ भदौ । विराटनगरको एभरेस्ट कलेजले विद्यार्थीहरूमा वैज्ञानिक दृष्टिकोण, सृजनशीलता र खोज अनुसन्धानको भावना विकास गर्ने उद्देश्यले ‘साइन्स सेमिनार’ आयोजना गरेको छ ।
बिहीबार आयोजित सो सेमिनारमा विद्यार्थीहरूले विज्ञान र प्रविधिका नवीन तथा रोचक विषयहरूमा आफ्ना प्रस्तुतिहरू दिएका थिए । शिक्षण सिकाइलाई कक्षा कोठाको पाठ्यक्रममा मात्र सीमित नगरी व्यवहारिक प्रयोगसँग जोड्ने कलेजको अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । सेमिनारमा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, सिर्जनात्मक क्षमता र वैज्ञानिक अन्वेषणलाई प्रस्तुत गर्ने अवसर पाएका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै कलेजका प्राचार्य टीकाराम पुरीले विद्यार्थी नै शैक्षिक क्षेत्रका मुख्य सरोकारवाला भएको उल्लेख गरे । उनले भने, ‘विद्यार्थीले आफ्नो लक्ष्य प्राप्तिका लागि अन्तर हृदयदेखि मेहनत गर्नुपर्छ । कलेज, शिक्षक र अभिभावकले केवल सहजीकरणको भूमिका मात्र निर्वाह गर्ने हो ।’
सेमिनारमा विद्यार्थीहरूले ७ वटा विभिन्न समूहमा विभाजन भई विज्ञानका विविध आयाममा प्रस्तुति दिएका थिए । जस अन्तर्गत आर्जन बराल र जेसिज गेलालले ‘स्पेस टाइम’, आदित्य पघैया र प्रज्जवल श्रेष्ठले ‘ह्युमन ब्रेन’ तथा स्नेहा कोइराला, मानश्वी कोइराला, इच्छा बज्राचार्य र समीप खनालले ‘न्यूक्लीयर इनर्जी’ सम्बन्धी तथ्यहरू प्रस्तुत गरे ।
वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले शिक्षा, स्वास्थ्य, कृषि र सञ्चार जस्ता क्षेत्रमा भइरहेका परिवर्तनलाई आत्मसाथ गर्न यस्ता प्रयोगात्मक सिकाइ आवश्यक रहेको कलेजले जनाएको छ ।
सैद्धान्तिक ज्ञानलाई प्रयोग, अवलोकन र अनुसन्धानसँग जोड्दा विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने र उनीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर सोच्न प्रेरित गर्ने अपेक्षा कलेजले राखेको छ ।