विराटनगर ३ भदौ । सुनसरी र सिरहामा भएका घटनाको छानबिन गर्न गठित दुई छुट्टाछुट्टै समितिले आन्दोलनमा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन्। समितिले नेपाली सुरक्षाकर्मीले चलाएको गोलीबाट चार युवाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरेको छ।
सुनसरीको कप्तानगञ्ज घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले २० राउन्ड गोली चलाएको र गोली लागेर ओमप्रकाश, जयप्रकाश र रवीन्द्र मेहताको मृत्यु भएको समितिको निष्कर्ष छ। यस्तै, सिरहाको गोलबजारमा प्रहरीको पेस्तोलबाट चलेको गोली लागेर गणेश यादवको मृत्यु भएको उल्लेख छ।
दुवै समितिले गोली चलाउने सुरक्षा अधिकारीमाथि आवश्यक कारबाही गर्न सिफारिस गरेका छन् । साथै भिड नियन्त्रणमा गैरघातक हतियार र रबरको गोली प्रयोग गर्नुपर्ने तथा हतियार बोक्ने सुरक्षाकर्मीले बडीवर्न क्यामेरा अनिवार्य लगाउनुपर्ने सुझाव दिइएको छ ।
गृह मन्त्रालयले प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही अघि बढाउने जनाएको छ।