विराटनगर ३१ साउन । विराट स्पोर्ट्स जोनको आयोजनामा भएको अन्तर विद्यालय स्तरीय सुपर ८ क्रिकसलको उपाधि ग्रीनल्याण्ड स्कुलले जितेको छ । आईतबार सम्पन्न फाइनल खेलमा राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुललाई १० विकेटले पराजित गर्दै ग्रीनल्यान्डले उपाधि उचालेको हो ।
पहिले ब्याटिङ गरेको राइजिङ नेपालले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ७१ रन बनाएको थियो । ७२ रनको लक्ष्य पछ्याएको ग्रीनल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै ४ दशमलव ४ ओभरमै कुनै विकेट नगुमाई ७२ रन बनायो । ग्रीनल्यान्डले २८ बलमा लक्ष्य पूरा गरेको थियो ।
प्रतियोगितामा हेरिटेज इन्टरनेसनल स्कुलले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका ग्रीनल्यान्डका कृष्णराज यादव प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले प्रतियोगितामा ७८ रन बनाउनुका साथै ३ विकेट लिएका थिए ।
प्रतियोगितामा ब्याटिङतर्फ डेनिस राजाले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक १७५ रन बनाएर बेस्ट ब्याट्सम्यानको पुरस्कार पाए । बलिङतर्फ अमिर मण्डल ७ विकेटसहित बेस्ट बलर घोषित भए ।
प्रतियोगितामा इमर्जिङ प्लेयरको उपाधि हेरिटेज इन्टरनेसनल स्कुलका कक्षा ५ का विद्यार्थी अयान कट्टेलले प्राप्त गरे । उनले प्रभावशाली प्रदर्शन गरेका थिए ।
प्रतियोगिताका विजेता, उपविजेतालाई ट्रफी, प्रमाणपत्र प्रदान गरिएको छ । आयोजकले विशेष आकर्षणका रुपमा ‘फेयर प्ले अवार्ड ’ प्रदान गरेको छ । त्यसैगरि बेष्ट प्लेयरलाई ट्रफी सहित विराट स्पोर्ट्स जोन क्रिकेटमा तीन महिनाको शतप्रतिशत छात्रबृत्ति र एक हजार बराबरको गिफ्ट भौचर प्रदान गरिएको छ ।
बेष्ट ब्याट्म्यान, बेष्ट बलरलाई ट्रफी सहित एक/एक महिनाको शतप्रतिशत छात्रबृत्ति तथा एक हजार बराबरको गिफ्ट भौचर, म्यान अफ द म्याचलाई विराट स्पोर्ट्स जोनको क्रिकेट एकाडेमीमा भर्ना शुल्कमा ५० प्रतिशत छुट र ५ सय रुपैयाँ बराबरको गिफ्ट भौचर प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई विराटनगर महानगर प्रमुखनागेश कोइराला, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका मोहम्मद साद ‘बाबु’ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगिताले विद्यालय तहमा क्रिकेटप्रतिको बढ्दो आकर्षणसँगै नयाँ प्रतिभाहरूको सम्भावना पनि उजागर गरेको आयोजक विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाँइले बताउनुभयो ।
गत भदौ २७ देखि शुरु भएको प्रतियोगितामा विराटनगर, ग्रामथान र बुढीगंगाका सामुदायिक र निजी गरि ३२ विद्यालय सहभागी भएको विराट स्पोर्ट्स जोनका सचिव नवराज काफ्लेले बताउनुभयो ।

