विद्यालय स्तरीय क्रिकसलकाे सेमिफाइनल समीकरण पूरा

विराटनगर ३० साउन । विराट स्पोर्ट्स जोनको आयोजनामा जारी ‘इन्टर स्कुल सुपर–८ क्रिकसल टूर्नामेन्ट’ को सेमिफाइनल समीकरण पूरा भएको छ।

३२ विद्यालयका टोलीबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्दै चार टोली उपाधिको नजिक पुगेका छन्।

सेमिफाइनलमा बाल कल्याण विद्या मन्दिर, ग्रिनल्याण्ड सेकेन्डरी स्कुल, राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल र कोशी विद्या मन्दिरले स्थान बनाएका छन्।

अब यी चार टोलीबीचको प्रतिस्पर्धाले प्रतियोगिताको च्याम्पियनको टुंगो लगाउनेछ।

आइतबार  पहिलो सेमिफाइनलमा बाल कल्याण विद्या मन्दिरले ग्रिनल्याण्ड सेकेन्डरी स्कुलको सामना गर्नेछ। खेल बिहान ११ बजे सुरु हुनेछ। यस्तै, दोस्रो सेमिफाइनलमा राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल र कोशी विद्या मन्दिरबीच दिउँसो १२ बजे प्रतिस्पर्धा हुनेछ।

दुवै सेमिफाइनलका विजेताबीच सोही दिन दिउँसो २ बजे फाइनल खेल हुनेछ।

प्रतियोगितामा उपाधिसँगै ‘फेयर प्ले अवार्ड’ पनि आकर्षणको केन्द्र बनेको छ। सहभागी ३२ टोलीमध्ये मैदानभित्र र बाहिर उत्कृष्ट अनुशासन, मर्यादा तथा खेल भावना प्रदर्शन गर्ने एक टोलीलाई आयोजकले ‘फेयर प्ले ट्रफी’ प्रदान गर्नेछ।

उपाधिका लागि चार टोली आमनेसामने हुँदा ३२ टोलीमध्ये कुन विद्यालयले च्याम्पियनको उपाधि हात पार्ला भन्ने चासो बढेको छ। त्यसैगरी खेल प्रदर्शनसँगै अनुशासन र उत्कृष्ट खेल भावना देखाउने टोलीले फेयर प्ले अवार्ड जित्ने विराट स्पाेर्टस् जाेनका अध्यक्ष हरि बजगाँईले जानकारी दिनुभयाे ।