अन्तरविद्यालय क्रिकसल प्रतियोगितामा सात विद्यालय विजयी

विराटनगर २९ साउन । विराट स्पोट्र्स जोनद्वारा आयोजित प्रथम अन्तरविद्यालय क्रिकसल प्रतियोगिताको दोस्रो दिन बिहीबार सात खेल सम्पन्न भएका छन ।

८ ओभरको प्रारूपमा भइरहेको प्रतियोगितामा आदर्श मावि, जेसी बाल सदन, राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल, कान्तिपुर सेकेन्डरी स्कुल, ग्रीन पिस एकेडेमी, कोशी विद्या मन्दिर र पोखरिया मावि विजयी भएका छन ।

पहिलो खेलमा आदर्श सेकेन्डरी स्कुलले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जवाफमा लर्ड बुद्ध निकेतनले ८ ओभरमा ५ विकेट गुमाएर ५३ रन मात्र बनाएपछि आदर्श ३६ रनले विजयी भयो। आदर्शका गौरव राय प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा बुढानिलकण्ठ सेकेन्डरी स्कुल ५.३ ओभरमा २३ रनमै अलआउट भयो। २४ रनको लक्ष्य जेसी बाल सदनले ३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सहज जित निकाल्यो। आशुतोष गुरागाईं प्लेयर अफ द म्याच बने।

तेस्रो खेलमा राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुलले ८ ओभरमा ३ विकेट गुमाएर १४० रनको विशाल योगफल बनायो। जवाफमा सेन्ट जोसेफ्स सेकेन्डरी स्कुलले ८ ओभरमा ४ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो। राइजिङ नेपालका ड्यानिश राजाले ४५ बलमा अविजित ११० रन बनाउँदै प्रतियोगिताको पहिलो शतक पूरा गरे। उनी प्लेयर अफ द म्याच घोषित भए ।

चौथो खेलमा कान्तिपुर सेकेन्डरी स्कुलले ८ ओभरमा ५ विकेट गुमाएर ६६ रन बनाएको थियो। विनायक बोर्डिङ सेकेन्डरी स्कुल ७.२ ओभरमा ५७ रनमा अलआउट भएपछि कान्तिपुर ९ रनले विजयी भयो। सुजित यादव प्लेयर अफ द म्याच बने।

पाँचौँ खेलमा ग्रीन पिस एकेडेमीले ८ ओभरमा ५ विकेट गुमाएर १०३ रन बनायो। जवाफमा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल ६ ओभरमा ६ विकेट गुमाएर ३९ रनमै सीमित भएपछि ग्रीन पिस ६४ रनले विजयी भयो। मेराज शेख प्लेयर अफ द म्याच घोषित भए।

छैटौँ खेलमा कोशी विद्या मन्दिरले ८ ओभरमा ५ विकेट गुमाएर ८६ रन बनायो। देदराज सेवालीदेवी टोडी डीएभी केडिया विश्वभारतीले ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन मात्र बनाएपछि कोशी विद्या मन्दिर १३ रनले विजयी भयो। प्रिन्स दास प्लेयर अफ द म्याच बने।

सातौँ खेलमा पोखरिया स्कुलले ८ ओभरमा ६ विकेट गुमाएर ८५ रन बनायो। जवाफमा मोडर्न एरा इङ्लिस स्कुलले निर्धारित ८ ओभरमा २ विकेट गुमाएर ५९ रन मात्र बनाएपछि पोखरिया २६ रनले विजयी भयो। अर्बिन शाह प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगितामा विराटनगर, ग्रामथान र बुढीगंगाका निजी र सामुदायिक गरि ३२ विद्यालय सहभागी छन् । प्रतियेगिताको फाईनल खेल साउन ३१ गते हुने छ ।