मापदण्डविपरीत सञ्चालित विराटनगरका सात आँखा अस्पतालमा प्रशासनको ताला

विराटनगर २८ साउन । बिनाअनुमति र न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका विराटनगरका सात वटा आँखा अस्पताल तथा एक प्रयोगशालामा जिल्ला प्रशासन कार्यालय मोरङले शिलबन्दी गरेको छ ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले कानुनी प्रक्रिया तथा तोकिएको मापदण्ड पालना नगरेका स्वास्थ्य संस्थामा ताला लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले बुधबार र बिहीबार अनुगमन गरी कारबाही गरेको प्रशासनले जनाएको छ ।

शिलबन्दी गरिएकामा विराटनगर–१५ रानीस्थित अखण्ड ज्योति आँखा अस्पताल, मलाया रोडमा सञ्चालित हिमाल आँखा अस्पताल, नेपाल आँखा अस्पताल, सञ्जीवनी आँखा अस्पताल, इफ्रास आँखा अस्पताल र विराट रानी आँखा अस्पताल छन् । यस्तै, मापदण्ड पूरा नगरेको पाइएपछि विराट आँखा अस्पतालको प्रयोगशालामा समेत शिलबन्दी गरिएको छ ।

अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले प्राविधिक तथा कानुनी मापदण्ड उल्लंघन गरी सेवा सञ्चालन गरेको पाइएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार ती संस्थाले कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट सामान्य आँखा उपचार केन्द्रको मात्र अनुमति लिएर जटिल प्रकारका शल्यक्रियासमेत गर्दै आएका थिए ।

कानुनी व्यवस्थाअनुसार पूर्ण रूपमा आँखा अस्पताल सञ्चालन गर्न कम्तीमा १०० शय्याको पूर्वाधार आवश्यक हुन्छ । १०० शय्याभन्दा कम क्षमता भएका वा सामान्य जाँच तथा प्राथमिक उपचार मात्रै गर्ने संस्थालाई ‘आँखा उपचार केन्द्र’का रूपमा अनुमति दिइन्छ । यस्तो केन्द्रको स्वीकृति प्रदेश स्वास्थ्य निर्देशनालयले दिने व्यवस्था छ ।

यस्तै, २०० शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य मन्त्रालयले दिने र २०० शय्याभन्दा माथि वा विशिष्टीकृत अस्पताल सञ्चालनका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्ने प्रावधान छ ।

१०० शय्याको मापदण्ड पूरा नगरी आँखा उपचार केन्द्रको अनुमति लिएर जटिल शल्यक्रिया वा पूर्ण अस्पतालसरह सेवा सञ्चालन गर्नु कानुनविपरीत हुने प्रशासनले जनाएको छ । अनुगमनका क्रममा यही प्रकृतिको गतिविधि भेटिएपछि सम्बन्धित संस्थामाथि शिलबन्दीको कारबाही गरिएको हो ।