कोशी प्रदेश : एमालेका मन्त्री तत्काल नहट्ने, मन्त्रालय भने फेरबदल हुने

विराटनगर २७ साउन । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी हुने भए पनि हाल सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरूलाई तत्काल नहटाइने भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका मन्त्रीहरूलाई तत्काल जिम्मेवारीबाट नहटाउने तर नेकपा सरकारमा प्रवेश गरेसँगै मन्त्रालयको जिम्मेवारीमा फेरबदल गरिने बताउनुभयो ।

केन्द्रमा भएको सहमतिअनुसार कोशी प्रदेशमा एमाले र नेकपाको संयुक्त सरकार सञ्चालन हुने मुख्यमन्त्री कार्कीले स्पष्ट पार्नुभएको छ । सोहीअनुसार नेकपालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कोशी प्रदेशमा एमाले र नेकपाबीच संयुक्त सरकार गठन गर्ने सहमति भएको १९ दिनपछि नेपाली कांग्रेस आजदेखि सरकारबाट बाहिरिएको छ । कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएपछि नयाँ सत्ता समीकरण कार्यान्वयनको बाटो खुलेको हो ।

कांग्रेसका मन्त्रीहरूले सरकार छाडेसँगै रिक्त हुने जिम्मेवारीमा नेकपालाई सहभागी गराउने तयारी छ । त्यसका लागि मन्त्रालयको भागबण्डा र जिम्मेवारी हेरफेरबारे सत्ता साझेदार दलबीच छलफल हुने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

चालु आर्थिक वर्षको प्रदेश बजेट भने पुनर्लेखन नहुने उहाँले स्पष्ट पार्नुभएको छ । बजेटको मूल संरचना यथावत राखिने भए पनि कार्यान्वयनको अवस्था र प्राथमिकताका आधारमा बजेटको समीक्षा अर्थात रिभ्यु गरिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आफू पार्टीको निर्णयअनुसार अघि बढ्ने स्पष्ट पार्दै केन्द्रमा भएको राजनीतिक सहमतिलाई प्रदेशमा कार्यान्वयन गरिने बताउनुभएको छ ।

नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेशमा एमाले–नेकपाको संयुक्त सरकार औपचारिक रूपमा अघि बढ्ने भएको छ । अब मन्त्रालयको फेरबदल र नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लाग्न बाँकी छ ।

प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्री कार्की सहित आर्थिक मामिला तथा योजनामन्त्रीमा विदुर लिंथेप, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा इन्द्रमणि पराजुली, खानेपानी मन्त्रीमा तिलचन पाठक, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा उमाकान्त गौतम हुनुहुन्छ ।