विराटनगर २६ साउन । विराट स्पोर्ट्स जोनमा विराटनगरमा भोलिदेखि अन्तरविद्यालय स्तरीय ‘सुपर एट’ क्रिकसल प्रतियोगिता हुने भएको छ । विराट स्पोर्ट्स जोनको आयोजनामा साउन २७ देखि बुधबार देखि साउन ३१ गते आईतबारसम्म अन्तर विद्यालय स्तरीय प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा विराटनगर, ग्रामथान र बुढीगंगाका सामुदायिक र निजी गरि ३२ विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउने आज आयोजित पत्रकार सम्मेलनमा विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाँइले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका विजेता, उपविजेतालाई ट्रफी, प्रमाणपत्र प्रदान गरिनो छ ।
आयोजकले विशेष आकर्षणका रुपमा ‘फेयर प्ले अवार्ड ’ प्रदान गर्ने भएको छ । त्यसैगरि बेष्ट प्लेयरलाई ट्रफी सहित विराट स्पोर्ट्स जोन क्रिकेटमा तीन महिनाको शतप्रतिशत छात्रबृत्ति र एक हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने अध्यक्ष बजगाँइले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘बेष्ट ब्याट्म्यान, बेष्ट बलरलाई ट्रफी सहित एक÷एक महिनाको शतप्रतिशत छात्रबृत्ति तथा एक हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने भएको छ । ’
खेलको म्यान अफ द म्याचलाई विराट स्पोर्ट्स जोनको क्रिकेट एकाडेमीमा भर्ना शुल्कमा ५० प्रतिशत छुट र ५ सय रुपैयाँ बराबरको गिफ्ट भौचर दिईने पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताको प्रोजेक्ट म्यानेजरमा राज ढकाल र कार्यक्रम संयोजकमा करण कार्की रहनु भएको छ । अन्तर विद्यालय स्तरीय प्रतियोगिता आयोजनमा करिव २ लाख खर्च हुने आयोजकले बताएको छ ।
८ महिना अघि विराटनगर ३ दुधफारम पूर्व स्थापित विराट स्पोर्ट्स जोनको क्रिकेट एकाडेमीमा हाल १६५ खेलाडी भर्ना भई नियमित अभ्यास गर्दै आएका छन् । क्रिकेटको अभ्यासमा विराटनगर आसपासका खेलाडीका साथै भारत जोगवनीबाट पनि खेलाडीहरु अभ्यासका लागि आउने गरेको अध्यक्ष बजगाँइले बताउनुभयो ।