विराटनगर २६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र नेपाल सरकारबीच सातबुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच सोमबार साँझ भएको छलफलपछि सातबुँदे सहमति भएको हो। सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।
साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने सहमति भएको छ।
सहमतिमा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतलगायत सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने उल्लेख छ।
सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने पनि सहमति भएको छ। त्यस्तै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनमा समेटिएका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइने भएको छ।
सहमतिअनुसार सरकारले मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने व्यवस्था गर्नेछ। त्यसपछि मृतकको दाहसंस्कार गरिने सहमति भएको छ।
घटनामा मृत्यु भएका तीनै जनाको स्मृतिमा स्थानीय सरकारसँगको समन्वयमा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।
सरकार र मृतकका परिवारबीच भएको सातबुँदे सहमतिपछि घटनासँग जोडिएका विषयमा छानबिन तथा कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।