विराटनगर २५ साउन । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।
साउनका सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत समापन गर्दैछन्। अन्य सोमबार व्रत बस्न नपाए पनि अन्तिम सोमबार व्रत बसेर शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउनको सोमबार भगवान् शिवको प्रिय बार मानिने भएकाले श्रद्धालुले व्रत, पूजापाठ र दान गर्ने परम्परा छ।
बोलबम तीर्थालुको पनि विभिन्न शिवालयमा उल्लेख्य भीड लागेको छ। काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायतका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा तथा बोलबम मेला भर्नेको भीड लागेको छ।
यसपटक साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारले बताएका छन्। सोमबारका दिन त्रयोदशी तिथि परेमा सोमप्रदोष भनिन्छ। सूर्यास्त आसपासको प्रदोषकालमा शिवको पूजा, दीप प्रज्वलन तथा बेलपत्र, दूध, दही र घ्यु चढाउँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।