कोशी प्रदेश सरकार गठनका लागि एमाले–नेकपावीच छलफल शुरु

विराटनगर २२ साउन । कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा (एमाले) र नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) बीच औपचारिक छलफल सुरु भएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री निवासमा शुक्रबार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा मन्त्रालय बाँडफाँट, साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनका विषयमा प्रारम्भिक संवाद भएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको नयाँ समीकरण अनुसार प्रदेशमा अगाडि बढ्ने विषयमा सकारात्मक छलफल भएको बताए ।

आगामी सोमबारसम्ममा सबै विषय प्याकेजमै टुङ्ग्याउने गरी तयारी गरिएको उनले जानकारी दिए। सरकार पुरानै ढर्रामा नचल्ने र दुई दलको साझा न्यूनतम कार्यक्रम बनाएर परिणाममुखी काम गर्ने गरी अघि बढ्ने उनको भनाइ छ । छलफलमा हालै ल्याइएको प्रदेश बजेटमाथि पुनरावलोकन गर्ने विषयमा समेत संवाद भएको आङ्बोले बताए ।

यसअघिको सरकारले ल्याएको बजेटलाई नयाँ समीकरणको प्राथमिकता अनुसार परिमार्जन गर्ने विषयमा छलफल भएको हो । बजेटलाई पूरक बजेटमार्फत लैजाने वा अन्य कुनै प्राविधिक माध्यमबाट परिमार्जन गर्ने भन्ने विषयमा गृहकार्य जारी रहेको उनले स्पष्ट पारे । नयाँ सरकार गठनसँगै मन्त्रालयको सङ्ख्या र जिम्मेवारीका विषयमा पनि दुई दलबीच आ–आफ्नो दाबी प्रस्तुत गर्ने तयारी छ । वर्तमान सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारीमा छन ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको आग्रहमा केही दिन रोकिए पनि अब नयाँ समीकरण अनुसार मन्त्रिमण्डल पुनर्गठन हुने देखिएको छ । यसका लागि दुवै दलले आन्तरिक गृहकार्य गरेर अर्काे बैठकमा प्याकेजमा निर्णय गर्ने सहमति गरेका छन । प्रदेशको नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलन र उनीहरूको मागका विषयमा समेत बैठकमा छलफल भएको छ।

एमालेले यो विषय केन्द्रसँग पनि जोडिएको भन्दै वार्ता र संवादमार्फत समाधान खोज्न लचिलो हुने संकेत दिएको छ । दुई दलबीच प्रदेशलाई राजनीतिक स्थिरता दिन पूर्ण कार्यकाल मिलेर जाने प्रतिबद्धतासमेत व्यक्त भएको छ । बैठकमा एमालेका तर्फबाट पार्टी सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई र नेकपाको तर्फबाट नेता आङ्बो, पूर्व मुख्यमन्त्री राजेन्द्र राईलगायतका नेताहरूको उपस्थिति थियो ।