विराटनगर २१ साउन । विराटनगरमा डिजिटल सुरक्षा, साइबर सुरक्षा तथा सूचना अखण्डता सम्बन्धी दुई दिने पत्रकारिता तालिम शुरु भएको छ । डिजिटल राईट्स नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरङको समन्वयमा शुक्रबार सम्म सञ्चालन हुने तालिममा मोरङका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ईन्द्रमणि पराजुलीले पत्रकारिता क्षेत्रलाई प्रविधिमैत्री वनाउन प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याउन लागेको जानकारी दिनुभयो । कोशी प्रदेशको पत्रकारिताको क्षेत्रको विकासका लागि प्रदेस आमसञ्चार प्रतिष्ठान गठन गरिएको उहाँले बताउनुभयो । मुलुकको विकासका लागि पत्रकारिताक्षेत्रको विकास आवश्यक रहेकाले कोशी प्रदेशका पत्रकारहरुको समन्वय र सहकार्यमा प्रदेशमा सञ्चारमैत्री कानुन ल्याउने उहाँले प्रष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष नितु पण्डितले समाजिक सञ्जालमा हुने प्रविधिको गलत प्रयोगका कारण भ्रामक र तथ्यहिन समाचारले पत्रकारिता पेशामा चुनौती थपिएकाले प्रविधिको सहि प्रयोग गर्न आग्रह गर्नुभयो । अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रले निकै समस्या भोग्नु परिरहेको चर्चागर्दै पत्रकारहरुको व्यावसायिक हित र विकासका लागि प्रदेश सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
डिजिटल राईट्स नेपालका कार्यकारी निर्देशक सन्तेष सिग्देलले डिजिटल मिडियालाई व्यवस्थित एंव प्रभावकारी वनाउन तालिम आयोजना गरिएको प्रष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेल, प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्र पी अधिकारीले तालिमको महत्वमाथी प्रकाश पार्नु भएको थियो ।
तालिमको सहजीकरण पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष नितु पण्डित, डिजिटल राईट्सका कार्यकारी निर्देशक सन्तोष सिग्देल, अधिवक्ता सदीक्षा सिलवाल र संजीना क्षेत्रीले गर्नुभएको छ ।