सुनसरी देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर १९ साउन । सुनसरीको देवानगञ्ज ३ कप्तानगञ्जमा भएको दुई समुदायवीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गत साउन १० गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृत्युको बताउनुभयो ।

१० साउनमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिएको थियो ।

देवानगञ्ज गोली काण्डका अर्का घाइते देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।