सुनसरीको जनजीवन विस्तारै सामान्य बन्दै

विराटनगर १७ साउन । सुनसरी देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै पुरानै लयमा फर्किन थालेको छ ।

केही दिनसम्म कफ्र्यु र सुरक्षा संवेदनशीलताका कारण सुनसान बनेका बजार तथा राजमार्गमा अहिले पुनः चहलपहल देखिन थालेको हो । इनरुवा बजार क्षेत्रका अधिकांश व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरु आइतबारदेखि सञ्चालनमा आएका छन् ।

बजार खुलेसँगै किनमेलका लागि उपभोक्ताको उपस्थिति पनि बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । केही दिनअघिसम्म सुनसान देखिएको बजारमा अहिले सर्वसाधारणको चाप बढ्दै गएको स्थानीयको भनाइ छ ।

सार्वजनिक यातायात सेवा पनि क्रमशः नियमित बन्दै गएको छ । इनरुवासहित सुनसरीका विभिन्न क्षेत्रबाट छोटो तथा लामो दूरीका सवारी सञ्चालनमा आएपछि यात्रुहरूको आवतजावत सहज हुन थालेको छ । यसअघि यातायात सेवा अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, बिरामी तथा अन्य यात्रुले ठूलो सास्ती भोग्नु परेको थियो ।

विराटनगरबाट काठमाडौं, पोखरा, जनकपुर, वीरगन्जलगायत विभिन्न गन्तव्यका लागि सञ्चालन हुने अधिकांश बस सेवा पनि पुनः नियमित हुन थालेका छन् । यातायात व्यवसायी राजन कँडेलका अनुसार केही पहाडी रुटमा सवारी पहिले नै सञ्चालन भए पनि मधेशतर्फ जाने र पश्चिम नेपालका अधिकांश रुटका बसहरू एक सातासम्म रोकिएका थिए ।

अहिले सुरक्षा अवस्था सुधार भएसँगै सेवा पुनः सञ्चालनमा आएको उहाँले बताउनुभयो । साउन १० गते कप्तानगन्जमा भएको गोलीकाण्डपछि सुनसरीसँगै मधेश प्रदेशका सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कफ्र्यु तथा निषेधाज्ञा जारी गरिएको थियो । त्यसको प्रत्यक्ष प्रभाव पूर्व–पश्चिम राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक यातायात र दैनिक जनजीवनमा परेको थियो ।