विराटनगर १५ साउन । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएसी) विराटनगरले सञ्चालन गर्दै आएको ब्रह्मज्ञानी विश्रामालयमा भजन–कीर्तन तथा ज्येष्ठ नागरिकलाई खीर खुवाउने कार्यक्रम गरेको छ ।
८५ वर्षीय ज्येष्ठ नागरिक भरतराज शर्माको प्रमुख आतिथ्यमा विहिबार सम्पन्न कार्यक्रममा साउन महिनाको धार्मिक र सांस्कृतिक महत्वलाई आत्मसात गर्दै भजन–कीर्तन प्रस्तुत गरिएको थियो । भजन–कीर्तनले विश्रामालयको वातावरण भक्तिमय बनेको थियो भने सहभागी ज्येष्ठ नागरिकलाई खीर खुवाएर सम्मान व्यक्त गरिएको थियो ।
नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अर्यालले ज्येष्ठ नागरिकप्रति सम्मान, आत्मीयता र खुसी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले विश्रामालयले नियमित स्वास्थ्य तथा सामाजिक सेवासँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्ने गतिविधिहरूलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।
विराटनगरको कलेज रोडस्थित ब्रह्मज्ञानी विश्रामालयमा ज्येष्ठ नागरिकका लागि निःशुल्क फिजियोथेरापी सेवा समेत सञ्चालन हुँदै आएको छ । विश्रामालयले स्वास्थ्य सेवासँगै सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत ज्येष्ठ नागरिकलाई सक्रिय, उत्साहित र समाजसँग जोडिराख्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले यस्ता गतिविधिले आफूहरूलाई सम्मानित भएको अनुभूति गराएको, एकअर्कासँग भेटघाट गर्ने अवसर मिलेको तथा मानसिक रूपमा समेत सकारात्मक ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिएका थिए । यसअघि असार १५ गते ब्रह्मज्ञानी विश्रामालयमा दहि चिउरा खुवाईएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार यज्ञ शर्मा, डा. मिनराज ढकाल, मीना जोशी, विष्णु शर्मा, राजन पौडेललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकमा आत्मीयता, सम्मान र सामाजिक अपनत्वको भावना अभिवृद्धि हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा धार्मिक, सामाजिक तथा मानवीय मूल्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब ६० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।