विराटनगर १५ साउन । विराटनगरमा आज शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ । सुनसरीको देवानगंजबाट दुई समुदाय बिच सुरु भएको तनाव केही जिल्लामा फैलिरहेको बेला मोरङ जिल्लामा सामाजिक सद्भाव कायम राख्नका लागि शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।
शान्तिपूर्ण सद्भाव र्यालीमा सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । विराटनगरको महेन्द्र चौकबाट सुरु भएको शान्तिपूर्ण सद्भाव र्याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर समापन भएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले र्यालीको नेतृत्व गर्नुभएको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले र्यालीलाई सम्पन्न गर्दै मोरङ जिल्लामा सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभयो । र्यालीमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा, विद्यार्थी, उद्योगी, व्यवसायीका साथै विभिन्न धार्मिक समुदायका नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरुले हातमा राष्ट्रिय झण्डा बोकेर आपसी प्रेम, भ्रातृत्व र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले समाजमा कुनै पनि बहानामा हुने विभाजन र द्वन्द्वले कसैको हित नगर्ने भन्दै सबै जातजाति र धर्मबीचको एकता नै मुलुकको वास्तविक शक्ति भएको बताएका छन् । बजार बन्दका कारण केही समय त्रसित बनेका स्थानीयमा सद्भाव र्यालीले सकारात्मक उर्जा र शान्तिको सन्देश प्रवाह गरेको विश्वास गरिएको छ ।