मंगोलियामा हुने ११ औं एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको प्रतिनिधित्व, तीन सदस्यीय टोलीको बिदाइ

विराटनगर १५ साउन । मंगोलियामा आयोजना हुन लागेको ११ औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व जनाउने भएको छ ।

आगामी अगस्त ३ देखि ९ तारिखसम्म (साउन १८ देखि २४ गते) सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपालबाट तीन सदस्यीय टोली मंगोलिया प्रस्थान गर्न लागेको हो ।

बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रतियोगितामा सहभागी हुने टोलीलाई बिदाइ तथा शुभकामना व्यक्त गरेको छ । बोर्डका सदस्य सचिव विप्लव घोषले सहभागी खेलाडी तथा पदाधिकारीहरूलाई खादा ओढाएर सफल प्रतियोगिताको शुभकामना दिँदै बिदाइ गरे ।

नेपालको तर्फबाट प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्की, महासचिव गम बहादुर थापा मगर र खेलाडी शेखर थापा सहभागी हुनेछन् ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले औपचारिक बिदाइ गरेपश्चात् १७ तारिख आइतबार मंगोलियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सात दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा खेलकुदका साथै विभिन्न प्राविधिक सत्रहरू पनि आयोजना हुने महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको पहिलो दिन अम्पायरहरूका लागि सेमिनार कोर्स सञ्चालन हुनेछ भने सोही दिन साँझ एसियन आईटीएफ तेक्वान्दो फेडेरेसनको कंग्रेस अधिवेशन समेत आयोजना गरिनेछ ।

प्रतियोगिताको औपचारिक उद्घाटन भने अगस्त ३ तारिखमा हुनेछ । नेपाली टोलीले यसपटकको एसियाली प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित तयारी गरेको र अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान थप उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।