विराटनगर १४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कार्यपालिका बैठकले कप्तानगञ्ज झडपमा ज्यान गुमाएकाका परिवारलाई राहत दिने निर्णय गरेको छ ।
आज बसेको कार्यपालिका बैठकले दुई मृ्तककका परिवारलाई राहत दिने निर्णय गरेको हो । बैठकले प्रहरीको गोली लागेर ज्यान गुमाएका वडा नं. ४ का २४ वर्षीय ओमप्रकाश मेहता र वडा नं. ३ का २२ वर्षीय जयप्रकाश मेहताको परिवारलाई जनही १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले मृतकद्वयलाई सहिद घोषणा गर्न नेपाल सरकारसँग सिफारिस गर्ने र उनीहरूको चिरशान्तिको कामना गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
मृतकलाई सहिद घोषणाका लागि सिफारिस गर्ने निर्णय गरीएको गाउपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताउनुभयो । गत साउन १० गते आइतबार राति दुई समुदायबीच भएको झडप र त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई स्थानीयको मृत्यु भएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको पनि उपचारका क्रममा विहिबार मृत्यु भएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज ३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो । योसँगै घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
बैठकले घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य बाहेकका गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरू अर्काे सूचना जारी नहुन्जेलका लागि बन्द गर्ने निर्णय गरेको छ ।