विराटनगर ११ साउन । सुनसरीको देवानगञ्ज घटनाका विषयमा गठित छानबिन समिति घटनास्थल आइपुगेको छ ।
समितिले घाइतेहरूलाई भेटेका छन् । छानविन समिति सदस्य प्रहरी उपरीक्षक विपीन रेग्मीले विराटनगरका विभिन्न अस्पताल पुगेर घाइतेहरूलाई भेटेको बताउनुभयो ।
सरकारले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा सदस्यीय छानबिन समिति गठन भएको थियो ।
आइतबार राति दुई समुदायका बीचको झडपका क्रममा सशस्त्र प्रहरीले गोलीबाट एकजनाको मृत्यु र प्रहरीसहित २४ जना घाइते भएपछि गृहमन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।
घटनापछि सुनसरीका सीडीओ वासुदेव घिमिरे, प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेलगायतको जिम्मेवारी खोसिएको थियो ।
प्रदर्शनकारीको मागबमोजिम सरकारले प्रहरी अधिकारीको सरुवा गरे पनि स्थिति सामान्य भइसकेको छैन । अहिले सुनसरीको भोक्राह, कोशी गाउँपालिका, इनरुवा नगरपालिकागायत देशका विभिन्न ठाउँमा घटनाको विरोधमा प्रदर्शन भइरहेको छ ।