विराटनगर ११ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले डिजेको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्काे सूचना जारी नभएसम्मका लागि डिजे बजाउन प्रतिबन्ध लगाइएको हो ।
सूचनाको उल्लंघन गर्दै कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । जिल्ला प्रशासन कार्यालयले मोरङवासीलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि सार्वजनिक वा निजी कार्यक्रममा डिजे प्रयोग गर्न पाइने छैन ।
प्रशासनले ध्वनि प्रदूषण नियन्त्रण, सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा बोलबम जाने क्रममा युवाहरुले डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो ।
घटनाको विरोधमा सुनसरी, मोरङसहित विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ ।