विराटनगर ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्काे समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।
झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ ।
प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको छ ।