नेपाल स्काउट विघटनको विरोध, निर्णय फिर्ता लिन माग

विराटनगर ९ साउन । कोशी प्रदेशबाट निर्वाचित नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्यहरूले स्काउटको राष्ट्रिय परिषद्, प्रदेश परिषद्, स्थानीय परिषद् तथा कार्यकारी समितिहरू विघटन गर्ने निर्णयको कडा विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

स्काउट विघटनविरुद्ध कोशी प्रदेशबाट विद्रोह सुरु गरेका उनीहरुले निर्णय नसच्याइए देशभरका स्काउटरहरू आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् । राष्ट्रिय परिषद् सदस्यहरू नवलप्रसाद उपाध्याय, निर्मला अधिकारी, किरण गिरी, दुर्गाबहादुर विष्ट र रवि खनालले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचित संरचनाहरू विघटन गर्ने अधिकार प्रधानमन्त्री वा शिक्षा तथा खेलकुद मन्त्रीलाई नेपाल स्काउट ऐन, २०५० ले नदिएको दाबी गरेका छन् । उनीहरूले सरकारको निर्णय गैरकानुनी, अलोकतान्त्रिक तथा सर्वाेच्च अदालतको आदेशको विपरीत रहेको बताएका छन् ।

विज्ञप्तिमा नेपाल स्काउटको आधिकारिक फेसबुक पृष्ठमार्फत साउन ८ गते राति राष्ट्रिय, प्रदेश र स्थानीय परिषद्सहित सबै कार्यकारी समिति विघटन गरिएको सूचना सार्वजनिक गरिनु कानुनी शासन र संस्थागत मर्यादामाथिको प्रहार भएको उल्लेख गरिएको छ । हस्ताक्षर र निर्णयको प्रतिलिपिबिनै सूचना सार्वजनिक गरिएको भन्दै उनीहरूले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।

राष्ट्रिय परिषद् सदस्यहरूले प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायलाई निर्णय सच्याउन पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा शिक्षा तथा खेलकुद मन्त्रीलाई तत्काल निर्णय फिर्ता लिन अपिल गरेका छन् । अन्यथा देशभरका स्काउटरहरू विरोधका कार्यक्रमसहित आन्दोलनमा उत्रिने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।