विराटनगर ९ साउन । नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ । वर्षायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढेसँगै डुबेर प्रत्येक वर्ष सयौँ नागरिकले ज्यान गुमाउने गरेका छन् ।
नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ ।
विश्व डुबान रोकथाम दिवसका अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष तीन लाखभन्दा बढी मानिसको डुबेर मृत्यु हुने गरेको छ । दक्षिण–पूर्वी एसिया क्षेत्रमा मात्रै वार्षिक करिब ८३ हजार जनाले ज्यान गुमाउने गरेका छन् । सङ्गठनले नेपालमा पनि डुबेर हुने मृत्यु सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक घण्टा करिब ३० जनाले डुबेर ज्यान गुमाउने गरेका छन् भने कुल डुबेर मृत्यु हुनेमध्ये २४ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहेका छन् । डुबेर हुने कुल मृत्युको ९२ प्रतिशत न्यून तथा मध्यम आय भएका देशहरूमा हुने गरेको छ । बाढीजन्य विपत्मा हुने मृत्युको ७५ प्रतिशत डुबेर हुने गरेको छ । तथ्याङ्क अनुसार नेपालमा पनि डुबेर मृत्यु गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । सङ्गठनका अनुसार सन् २०२४ को तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष एक हजार छ सय जनाको डुबेर मृत्यु हुने अनुमान छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/७२ मा ५९० जनाको डुबेर मृत्यु भएकोमा २०८०र८१ मा यो सङ्ख्या बढेर ८६७ पुगेको छ ।
तथ्याङ्क अनुसार डुबेर मृत्यु हुनेमध्ये करिब एक तिहाइ बालबालिका छन् । मधेश प्रदेशमा यो अनुपात दुई तिहाइ पुगेको छ । नेपाली बालबालिकामा पौडी खेल्ने सिप पनि कमजोर देखिएको छ । १०–१४ वर्ष उमेर समूहका २५ प्रतिशत र १५–१९ वर्ष उमेर समूहका ४५ प्रतिशतले मात्र आफू पौडी खेल्न सक्ने बताएका छन् ।
सङ्गठनका अनुसार नेपालमा डुबेर मृत्यु हुनेमध्ये ०–४ वर्ष ११ प्रतिशत, ५–१४ वर्षका २२, १५–२९ वर्षका २३ प्रतिशतको मृत्यु हुने गरेको छ ।