लैंगिक हिंसा र लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवस्थाबारे प्रदेश स्तरिय सम्मेलन

विराटनगर ५ साउन । कोशी प्रदेशमा लैंगिक हिंसा र लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवस्थाबारे प्रदेश स्तरिय सम्मेलन आजदेखि विराटनगरमा शुरु भएको छ ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागितामा दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा कोशी प्रदेशमा लैंगिक हिंसा ( जीवीभी) र लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी) को अवस्था, विश्लेषण र समीक्षा हुने मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सवै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुले पालिकागत रुपमा समूहगत प्रस्तुती गर्ने छन् ।

प्रदेश स्तरिय सम्मेलनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री रामप्रसाद महतोले प्रदेश सरकारले लैंगिक हिंसा विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले किशोरी शक्तिकरण, अपाङ्गता लक्षित कार्यक्रमहरु प्रदेश भरिका सवै स्थानीय तहमा सञ्चालनमा रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव उद्धव रिजालले लैंगिक हिंसाको विषय पेचिलो बनेर आएको बताउनुभयो । लैंगिक हिंसा निवारणका लागि सवै स्थानीय तहहरुमा लैंगिक हिंसा निवारण कोष स्थापना गरि एक/एक लाख बजेट चालु आर्थिक वर्षदेखि उपलब्ध गराइएको बताउनुभयो ।