नयाँ आर्थिक वर्ष २०८३-८४ आज देखि सुरु

विराटनगर १ साउन । नयाँ आर्थिक वर्ष २०८३/८४ आज देखि सुरु हुँदै छ । यससँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आउने छ ।

वर्षभरि सरकारले गर्ने आम्दानी र खर्चको अनुमान गरिने नयाँ बजेट पनि आजदेखि नै कार्यान्वयन हुने छ । बजेटमा सरकारले आम्दानी र खर्च बढाउने तथा विकासका कार्यक्रम कार्यान्वयन गर्न नयाँ नयाँ व्यवस्था गरेको हुन्छ ।

सरकारले संवैधानिक प्रावधान अनुसार गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आजदेखि लागु हुने नयाँ आवको बजेट प्रस्तुत गरिसकेको छ । जुन संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणित पनि भइसकेको छ । सरकारतर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस आवका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

सरकारले साउन १ गतेदेखि लागु गर्ने गरी बजेट सार्वजनिक गरे पनि केही कर पनि बजेट प्रस्तुत गरेकै दिनबाट लागु हुन्छन् । खास गरी भन्सार महसुल, अन्तःशुल्क, विलासिता शुल्क जेठ १५ गतेदेखि नै लागु भइसकेका छन् । यसबाहेक व्यक्तिगत तथा संस्थागत आयकर, शिक्षा तथा स्वास्थ्य समता शुल्क लागु हुँदै छन् ।