नेपाल ग्रामीण विकास समाज केन्द्रमा दहि चिउरा खाने कार्यक्रम

विराटनगर १५ असार । नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरले आज ज्येष्ठ नागरिकहरुलाई दही चिउरा खुवाएको छ । असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा समाज केन्द्रले विराटनगरका ज्येष्ठ नागरिकहरुलाई दहि चिउरा खुवाएको हो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले धान संस्कृति, परम्परासँग जोडिएको बताउनुभयो । किसानलाई प्राथमिकतामामा राखेर सरकारले धान दिवस मनाउन शुरू गरेको उहाँले बताउनुभयो ।

मुलुक कृषिमा आत्मनिर्भर हुन नसकेको मन्त्री पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कृषि निर्यातमुखी हुन सकेन । तीनै तहको सरकारले उन्ननत जातको बीउको प्रवन्ध र मलखादको समस्या समाधान गर्नुपर्छ ।’ कृषकलाई आत्मनिरभर बनाउने राज्यले सुविधा दिनुपर्ने उहाँले बताउनुभयो । कृषिको व्यवसायिकरण र आधुनिकीकरणमा मन्त्री पराजुलीको जोड छ ।

कार्यक्रममा एलिट क्लव विराटनगरकी अध्यक्ष इन्दिरा कार्कीले कृषिको आधुनिकीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । दही चिउरा नेपाली संस्कृतिसँग जोडिएको उहाँले बताउनुभयो ।

नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरका अध्यक्ष मणिकुमार अज्र्यालले धर्म संस्कृति जगेर्ना गर्न र भावी पुस्तालाई सिकाउने उद्देश्यले राष्ट्रिय धान दिवसको अवसरमा दहि चिउरा खाने कार्यक्रम राखिएको उहाँले बताउनुभयो । समाज केन्द्रले धर्म, संस्कृति, परम्परा जगेर्ना हुने कार्यक्रमका साथै जेष्ठ नागरिकका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको उहाँले बताउनुभयो ।