विराटनगर १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ ।
मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बदलिँदो पुस्ताको आकांक्षाबारे कम्युनिस्ट आन्दोलनले समयानुकूल निरन्तर परिस्कृत गर्नुपर्ने महसुस भएको बताउनुभयो । ‘आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले भविष्यप्रतिको जिम्मेवारी अझ सुदृढ बनाउन सक्छ,’ उहाँले भन्नुभयो, ‘बदलिँदो जनआकांक्षा राष्ट्रिय आवश्यकता नीति नेतृत्वमा हुनुपुर्छ ।
विगतको उपलब्धिको स्मृरणमात्रै पर्याप्त हुँदैन ।’ उहाँले नेपालका लागि प्रत्यक्ष कार्यकारीको परिकल्पना उपयुक्त नभएको पनि बताउनुभयो । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ,’ उहाँले भन्नुभयो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको उल्लेख गर्दै त्यसलाई परास्त गर्ने दाबी गर्नुभएको छ । उहाँले अहिले आफूहरूलाई कमजोर नठान्न उनले आग्रह गर्नुभयो । उहाँले अहिलेको सरकार र यसले गरिरहेका गतिविधिहरूप्रति पनि आपत्ति जनाउनुभयो । असंवैधानिक ढंगबाट संसद् विघटन गरी चुनाव गएको प्रसंग उठाउँदै उनले त्यो बेलामा सबै मिल्न नसकेको बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै दुखेसो गर्नुभएको छ । उहाँले आफूले क्रमभंगको कुरा गर्दा उत्पात नै गर्न थाल्यो भन्ने गरेको टिप्पणी गर्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले एउटै क्रममा बस्ने नेता कहिँ पनि नपुग्ने जिकिर गर्नुभयो । आफू एकताका लागि नहतारिएको पनि उहाँको भनाइ थियो । आफ्ना केही साथीहरू सधैं एकै ठाउँमा बस्ने गरेको र भिक्षु बनेर घण्टी बजाइरहेको टिप्पणी पनि उहाँले गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताउनुभयो । मदन भण्डारीले भनेजस्तै कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण उहाँले दिनुभयो । आत्मकेन्द्रित चिन्तनलाई पराजित गर्न नसक्ने बेलासम्म गफाडीको गफमात्रै हुने उहाँले बताउनुभयो । उहाँले मदन भण्डारीलाई स्मरण गर्दै उनको विचार पछ्याउन आग्रह गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनाडीहरूबाट संविधान संशोधन नगरिने बताउनुभयो । संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ । संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने उहाँले बताउनुभयो ।