विराटनगर ११ असार । आगामी आर्थिक वर्ष २०८३८४ का लागि ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गरेका छन् । बाँकी २९ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गर्न सकेनन् । सभामा बजेट पेस गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधुरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधिमैत्री बनाउने र सुशासनलाई जोड दिएका छन् ।
कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन् । महानगरपालिका, उपमहानगरपालिका र सहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपत व्यवस्थापनलगायत कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन् ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो । आगामी २०८४ वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको पाँचबर्से कार्यकाल सकिन्छ । जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले गत दस वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेस गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेस गर्न नसकिएका, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले बजेट सभामा पेस गर्न नसकेका हुन् ।
उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन भएको दस वर्षको अवधिलाई हेर्दा स्थानीय तहले क्रमिक रूपमा कानुनले तोकेकै समयमा बजेट सभामा पेस गर्ने क्रम बढ्दै गएको छ । यसबाट स्थानीय तह सुशासनतर्फ अग्रसर भएको पुष्टि हुन्छ ।” सभामा बजेट नल्याउने स्थानीय तहका लागि महासङ्घले आवश्यक सहजीकरण गर्ने प्याकुरेलले स्पष्ट पार्नुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार १० गतेभित्र गाउँ र नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।