विराटनगर १० असार । यातायात व्यवस्था कार्यालय, मोरङले प्रवाह गर्ने सेवाका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम वुधवार विराटनगरमा सम्पन्न भएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा फरवार्ड मिडिया एण्ड रिसर्च सेण्टर प्रालिको व्यवस्थापनमा कार्यालयले प्रवाह गर्ने सेवाका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा यातायात कार्यालयबाट प्रवाह हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सवारी दर्ता तथा नवीकरण, नामसारी तथा दर्ता तथा सरूवा, राजश्व सङ्कलन, सार्वजनिक तथा निजी सवारी व्यवस्थापन, सवारी चेकजाँच, अनलाइन सेवा, गुनासो व्यवस्थापनलगायतका विषयमा सेवाग्राहीसँग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
विराटनगर महानगरपालिका–३ स्थित यातायात कार्यालयको ट्रायल सेण्टरमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै यातायात व्यवस्था कार्यालयका प्रमुख मनोज कार्कीले यातायात कार्यालय मोरङबाट प्रभावकारी सेवा प्रवाह भएको बताउनु भयो । उहाँले सेवाग्राहीको माग बमोजिम टोकन प्रणालीको व्यवस्था गरेपनि सेवाग्राही एउटै भएपनि बैङ्क, मेडिकलगायत फरक– फरक सेवा लिनुपर्ने हुँदा टोकन प्रणालीले सेवाग्राहीलाई अल्म्याएका कारण टोकन प्रणालीलाई हटाएको बताउनु भयो ।
सेवा प्रभाहलाई अझ प्रभावकारी बनाउन आगामी साउनदेखि क्यूमार्फत घरै बसीबसी राजश्व तिर्ने गरी अनलाइन प्रणालीका लागि गृहकार्य भइरहेको कार्यालय प्रमुख कार्कीले बताउनु भयो । उहाँले चालू आर्थिक वर्षमा १४ करोड बढी राजश्व सङ्कलन गरेको जानकारी दिनुभयो । सेवाग्राहीको प्रश्नको जबाफ दिँदै उहाँले कार्यालयको सेवा प्रवाहमा कुनै समस्या आए तत्कालै सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सार्वजनिक सुनवाई कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका वरिष्ठ सइ सञ्जयकुमार यादवले सुरक्षित चालक अभियान जिल्लामा प्रभावकारी ढङ्गले अघि बढीरहेको बताउनु भयो । उहाँले सवारी साधन किन्नु अगावै चालकले सवारी अनुमतिपत्र प्राप्त गर्न जरूरी रहेको बारे सचेतना स्रम्पेषण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो । उहाँले सानो गल्तीले ठूलो दुर्घटना हुने र कानुन जान्दिन भनेर छुट नपाइने भएकाले सवारीसाधन चलाउँदा विशेष सजगता अपनाउन आग्रह गर्नु भयो ।
सार्वजनिक सुनवाई कार्यक्रममा यातायात कार्यालयका कर्मचारी, ड्राइभिङ्ग सेण्टरका प्रतिनिधि, अगुवा सिटी रिक्सा चालक गरी झण्डै एक सय जना सेवाग्राहीको सहभागिता रहेको थियो ।