विराटनगर १० असार । पार्टी भित्रको आन्तरिक विवादका कारण नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को सभापतिको जिम्मेवारी खोसिएको छ । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै क्षेत्रीय सभापति देवराज तामाङको जिम्मेवारी खोसिएको हो ।
तामाङको जिम्मेवारी खोसरे पूर्वसांसद चुमनारायण तवदारलाई जिम्मेवारी दिएको छ । तामाङले पार्टी सदस्यता अद्यावधिक गर्न असहयोग गरिरहेका थिए । अद्यावधिकमा असहयोग गरेपछि केन्द्रीय नेतृत्वले जिम्मेवारी खोसेर तबदारलाई जिम्मेवारी दिएको हो । अब अद्यावधिकको काम नेता चुमनारायण तबदारले गर्नेछन् ।
वडा तहका क्रियाशील सदस्यहरूको सदस्यता अध्यावधि गर्ने प्रक्रियामा अवरोध पुर्याएको, पटक–पटकको निर्देशन बेवास्ता गरेको र स्वयं सभापतिले नै आफ्नो सदस्यता अध्यावधिक नगरेको कांग्रेसको आरोप छ । तामाङ डाक्टर शेखर कोइराला समूहका हुन् ।
यता, क्षेत्रीय सभापति देवराज तामाङले भने आफूलाई नहटाइएको दाबी गरेका छन् । उनले आफू निर्वाचित सभापति भएकोले कसैले हटाउन नसक्ने दाबी गरे। ‘म निर्वाचित सभापति हुँ, मलाई हटाएको कुनै आधिकारिक पत्र आएको छैन’ तामाङले भने,‘ बजारमा चल्ने हल्लाको पछि म लाग्दिन,सोमबार जिल्लाको बैठक बस्दा पनि त्यस्तो केही निर्णय भएको मलाई थाहा छैन ।’