विदा कटौती गरि विद्यालय सञ्चालन गर्न मोरङको उर्लाबारीले दिएको निर्देशन प्रति शिक्षक महासंघको आपत्ती

विराटनगर ४ असार । नेपाल शिक्षक महासङ्घ मोरङले साताको दुई दिन विदा कायम गर्न आग्रह गरेको छ । मोरङ उर्लाबारी सहित केही स्थानीय तहमा आइतबारको विदा कटौती गरि विद्यालय सञ्चालन गर्न दिएको निर्देशनप्रति आपत्ती जनाएको हो ।

नेपाल शिक्षक महासंघले विद्यालयहरू सञ्चालन खर्च संघीय सरकारले गर्ने गरेको र शिक्षक कर्मचारी व्यवस्थापन, भौतिक निर्माण शिक्षकको नियुक्ति सरुवा बढुवा, तालिम अवकाश लगायतका काम संघीय सरकारले गर्दै आएको स्मरण गराउँदै आइतबारको बिदा यथावत रुपमा कायम गर्न स्थानीय तहहरूलाई अपिल गरेको छ ।

संघीय सरकारले गरेको निर्णय स्थानीय पालिकाहरूले उल्लङ्घन गर्न नमिल्ने विज्ञप्तिमा जनाईएको छ । केही दिनअघि मोरङको उर्लाबारी नगरपालिकाले आइतबारको बिदा कटौती गरी विद्यालय सञ्चालन गर्न परिपत्र गरेको थियो। त्यस विरुद्ध नेपाल शिक्षक महासंघ अदालतको ढोका ढकढक्याउन पुगेको छ ।

अदालतको निर्णय नआउन्जेलसम्म आइतबारको बिदा कायम राख्न नेपाल शिक्षक महासङ्घ मोरङले सरोकारवाला विद्यार्थी अभिभावक शिक्षक सञ्चारकर्मी विद्यालयका प्रधानाध्यापक लगायतलाई अनुरोध गरेको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ।

नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोख्रेल र सचिव प्रेम प्रकाश कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्रिपरिषदको निर्णयलाई स्वागत गर्दै हप्तामा दुई दिन बिदा कायम गर्न अपिल गरिएको छ ।

नेपाल सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषदको निर्णयबाट शनिबार र आईतबार दुई दिन विदा दिदै आएको छ ।