‘यूवा उत्तरदायी बजेटिङ’ लागू गर्न माग

विराटनगर २९ जेठ । विराटनगरमा कोशी प्रदेश यूवा सम्मेलन सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल र यूवा अभियानको संयुक्त आयोजनामा जेठ २८ र २९ गते भएको सम्मेलनले ७ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ ।

यूवा सम्मेलनका घोषणा पत्र सार्वजनिक गर्दै कोशी प्रदेश सिएसओ युथ फोरमका संयोजक युवा तिम्सिनाले स्थानीय तथा प्रादेशिक योजना तर्जुमा प्रक्रियामा युवा नागरिक समाजको कम्तीमा २० प्रतिशत अर्थपूर्ण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको बताउनुभयो । सम्मेलनले बजेटमा ‘युवा उत्तरदायी बजेटिङ’ लागू गर्न माग गरेको उहाँले बताउनुभयो । पारदर्शिताका लागि प्रादेशिक युवा सूचना पोर्टल निर्माणको पनि सुझाव दिइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय तथा प्रदेश युवा परिषद्को खारेजी वा संकुचन नगरी यसलाई अझ बढी स्रोत–साधन सम्पन्न बनाउन र राष्ट्रिय युवा नीति २०८२ को मर्मअनुसार कोशी प्रदेशको आफ्नै विशिष्ट युवा नीति तुरुन्त लागू गर्न माग गरिएको घोषणा पत्रमा उल्लेख छ ।

बाढी–पहिरो प्रभावित युवा तथा महिलाका लागि ७२ घण्टाभित्र आपतकालीन शिक्षा र स्वास्थ्य सेवा पुग्ने द्रुत संयन्त्र बनाउन, स्थानीय तहमा प्रशिक्षित युवा स्वयंसेवक सञ्जाल निर्माण गर्न र जलवायु कोषको कम्तीमा १५ प्रतिशत बजेट सिधै युवा नागरिक समाजमार्फत परिचालन गर्न प्रदेश सम्मेलनले माग गरेको छ । डेटा गोपनीयताका लागि ‘डिजिटल अधिकार निर्देशिका जारी गर्न फिलाउन्सर र ‘गिग श्रमिक’को न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा कोषमा आबद्धता सुनिश्चित गर्न र पाठ्यक्रममा एआईको नैतिक प्रयोग र डिजिटल साक्षरता समावेश गर्न माग गरिएको पत्रकार सम्मेलनमा संयोजक तिम्सिनाले बताउनुभयो ।

विराटनगर सम्मेलनले कुल स्वास्थ्य बजेटको कम्तीमा ५ प्रतिशत मानसिक स्वास्थ्यमा विनियोजन गर्न हरेक स्थानीय तह र सरकारी विद्यालयमा मनोपरामर्शदाता राख्न र प्रादेशिक रोजगार कार्यक्रममा घण्टाका आधारमा पारिश्रमिक पाउने मोडल ल्याउन सुझाव दिइएको छ ।

वडास्तरदेखि नै ‘युवा नेतृत्व नागरिक अनुगमन संयन्त्र’ मार्फत सुशासनको पहरेदारी गर्ने, डिजिटल स्पेस सुरक्षित राख्न ‘पियर एजुकेसन’ चलाउने र विपन्न बालबालिकाका लागि स्वयंसेवी मेन्टरिङ अभियान सञ्चालन गर्ने प्रतिबद्धता प्रदेश सम्मेलनले व्यक्त गरेको छ ।

युवाका मुद्दालाई ‘तालिम र भत्ता’ मा सीमित गर्ने पुरातन सोचलाई चिर्दै यस घोषणापत्रको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार तथा नागरिक समाज र निजी क्षेत्रबीच रचनात्मक सहकार्यका लागि आह्वान गरिएको संयोजक युवा तिम्सिनाले बताउनुभयो ।

गैसस महासंघ र यूवा अभियानले सातै प्रदेशमा अहिले प्रदेश यूवा सम्मेलन गरिरहेको छ । यसअघि ४ वटा प्रदेशमा सम्मेलन सकिएको गैसस महासंघका केन्द्रीय उपमहासचिव किरण थापाले जानकारी दिनुभयो । सातै प्रदेशमा सम्मेलन सकेर राष्ट्रिय सम्मेलन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

कोशी प्रदेश सम्मेलनमा १४ वटै जिल्लाबाट प्रतिनिधित्व भएको गैसस महासंघ कोशी प्रदेशका सचिव सोमराज ढकालले बताउनुभयो । सम्मेलनमा ४३ जनाको सहभागिता रहेको उहाँले बताउनुभयो । गुगल फारम मार्फत सहभागी छनौट गरिएको ढकालले बताउनुभयो । प्रदेश सम्मेलनले अहिले १२ सदस्यीय समिति गठन गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्ला र स्थानीय स्तरमा पनि सम्मेलन गरि सिएसओ युथ फोरम गठन गरिने छ ।