विराटनगर २९ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप नगर्ने भएको छ । कांग्रेसले पार्टी सदस्यतलाई डिजिटल बनाउन थालेको सदस्यता अद्यावधिक अभियान बिहीबार मध्यरातबाट सकिएको छ ।
यसअघि पटकपटक म्याद थप गरिएको भए पनि अब भने क्रियाशील सदस्यताका लागि थप समय उपलब्ध नगराउने कांग्रेसले जनाएको छ ।
यद्यपि चित्तबुझ्दो कारण देखाएर कसैले सदस्यता अद्यावधिक गर्न छुटेको भए अवरोध हुने छैन । कांग्रेस महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिकमा सन्तोषजनक प्रगति भएको बताउनुभयो ।
बिहीबार मध्यरातबाट सदस्यता अद्यावधिक अभियान सम्पन्न हुने उहाँले बताउनुभयो । कुनै प्राविधिक कारणले कोही छुटेको भए पार्टी संरचनामा निवेदन दिन सकिने पौडेलले जानकारी दिनुभयो ।