विराटनगर २३ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघनमा कारवाही हुने भएको छ । दुई दिन अघि श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ मोटरसाइकल दुर्घटनामा पर्नु भएको थियो ।
साम्पाङले उदयपुरबाट आउँदा दुर्घटनामा परेको र सामान्य चोट लागेको बताउनुभयो । अध्यक्ष साम्पाङले आफैँ भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुर्घटनाको बारेमा जानकारी गराउनु भएको छ । उहाँले आफ्नै पेजमा पोस्ट गरेको भिडियोमा उनी एक हातले मोटरसाइकल चलाउँदै गरेका देखिन्छन् भने अर्काे हातले मोबाइलमा भिडियो खिचेको देखिन्छ । उहाँले हेल्मेट समेत लगाउनु भएको छैन । उहाँले सोही भिडियोमा आफू लडेर घाइते भएको देखाउनु भएको छ । भिडियोमा हातमा चोट लागेको देखिन्छ ।
सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक नियम उलङ्घनमा साम्पाङलाई कारवाहीको दायरामा ल्याईने बताउनु भयो ।
गिरीले अध्यक्ष साम्पाङले ट्राफिक नियम उलङ्घन गरेको भिडियोले प्रमाण दिएकाले कारवाहीको दायरामा आउने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘भिडियो हेर्दा उहाँले ट्राफिक नियम उलङ्घन गरेको प्रस्ट देखिन्छ । सर्वसाधारणलाई कानुन लाग्ने उहाँलाई नलाग्ने भन्ने हुँदैन ।’ प्रहरी उपरीक्षक गिरीका अनुसार ट्राफिक नियम पालना गर्नु सबैको कर्तव्य हो । ‘उहाँ जस्ता विधायीकीहरुले त अरूलाई सन्देश दिन पनि ट्राफिक नियमको पालना गर्नुपर्छ ।’ गिरीले भन्नुभयोे, ‘ठूला मान्छेलाई चाहिँ नियम कानुन नलाग्ने भन्ने हुँदैन ।’ उहाँले कारबाही भनेको जरिवाना भएको बताउनुभयो ।
कारवाहीका लागि साम्पाङको लाइसेन्स र सवारी साधनको ब्लूवुक आवश्यक पर्ने उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक गिरीले भिडियोकै आधारमा हर्क साम्पाङ कारवाहीको दायरामा आउने बताउनुभयो । दुर्घटनाका विषयमा साम्पाङले भने सामान्य भएको बताउँदै आउनु भएको छ ।