दुग्ध क्षेत्रमा उल्लेखनीय योगदान दिएका मनोजकुमार यादव सम्मानित

विराटनगर २२ जेठ । राष्ट्रिय दुग्ध दिवस २०८३ तथा विश्व दूध दिवसको अवसरमा दुग्ध क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष तथा सूर्याेदय डेरी उद्योगका सञ्चालक मनोजकुमार यादव सम्मानित भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बिहीवार काठमाडौँमा आयोजित विशेष समारोहमा यादवलाई सम्मानपत्र प्रदान गरेकी हुन् ।

यादवलाई दुग्ध उत्पादन, प्रशोधन तथा बजार विस्तारमार्फत नेपाली दुग्ध उद्योगलाई सुदृढ बनाउन खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल ले बताएका छन् ।

विराटनगरमा सञ्चालित सूर्याेदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रीले ‘परम’ ब्रान्डमार्फत दूध, दही, घ्यू, पनिर, बटर लगायतका दुग्धजन्य उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ । उद्योगले स्थानीय किसानसँग प्रत्यक्ष सहकार्य गर्दै दूध संकलन, रोजगारी सिर्जना र दुग्ध व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ ।

सम्मान ग्रहणपछि यादवले दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउने, किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने तथा उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य वस्तु उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।

उनले प्राप्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण दुग्ध व्यवसायी, किसान र उद्योग क्षेत्रको सामूहिक मेहनतको परिणाम भएको उल्लेख गर्दै यसले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताएका छन् ।