उर्लाबारी नगरपालिकाद्धारा आइतबार पनि विद्यालय खुला गर्ने निर्णय

विराटनगर २१ जेठ । मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय खुला गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार खुला गर्ने निर्णय लिएको हो ।

पठनपाठन नगरी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरी विद्यालय खोल्नुपर्ने पालिकाको निर्णय छ । बिदाका कारण बालबालिकामा मोबाइल, टेलिभिजन तथा अन्य डिजिटल सामग्रीको प्रयोग बढेको र त्यसले मानसिक रूपमा नकारात्मक असर पार्न थालेको गुनासो आएपछि उर्लाबारी नगर कार्यपालिकाको १९ जेठमा बसेको बैठकले १ असारदेखि लागु हुने गरी आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

०८२ चैत २२ मा बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र २०८३ देखि विद्यालयमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुई दिने बिदाका कारण विद्यार्थीहरूको शैक्षिक पठनपाठन र अतिरिक्त क्रियाकलापमा कमी आएको भन्दै गुनासा आएपछि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरी विद्यालय खुला गर्ने निर्णय भएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेले बताउनुभयो ।

आइतबारका दिन नियमित पठनपाठन भने नहुने र खेलकुद, सिर्जनात्मक गतिविधि, सांस्कृतिक कार्यक्रम, अतिरिक्त कक्षा तथा अन्य सह–शैक्षिक क्रियाकलाप सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।