कोशी प्रदेश आम सञ्चार सम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन गर्छौ : मन्त्री पराजुली

विराटनगर १८ जेठ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सरकारले श्रमजीवी पत्रकारको सुरक्षा र हकहितका लागि आम सञ्चार सम्बन्धी ऐन ल्याएको र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सञ्चारकर्मीले नयाँ सूचना प्रविधिसंग आवद्ध भई क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिँदै यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनु भयो ।

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र संगालो मिडिया प्रालिद्वारा आज विराटनगरमा आयोजित पत्रारितामा आवद्ध महिला,अपाङ्गता भएका व्यक्ति, आदिवासी, जनजाति तथा पिछडावर्गसंग प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिता विषयक दुई दिने अन्तरक्रियामा मन्त्री पराजुलीले राजनीतिक स्वतन्त्रता,नागरिकको हकहित , अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सञ्चारकर्मीले सदैव अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

पत्रकारिता क्षेत्रमा पछाडि परेका वर्गलाई यस क्षेत्रमा सक्रिय रुपमा क्रियाशिल गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघका महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महासंघका प्रदेश अध्यक्ष भरत खडका, मोरङ अध्यक्ष शुसिला पाठक, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार श्रेष्ठ, प्रेस संगठनका मोरङ अध्यक्ष नवीन कर्ण, संगालो खवरका अध्यक्ष रविन कट्टेल, लगायतले पत्रकार आचार संहिता पालन गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नु भयो ।

सो अवसरमा वरिष्ठ पत्रकार यज्ञ शर्माले ‘कोशी प्रदेश पत्रकारिता क्षेत्रको समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

अन्तरक्रियाबाट प्राप्त सुझाव प्रदेश सरकारले ल्याउने आगामी बर्षको बजेटमा आमसञ्चार क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्नका लागि सहयोग पुर्याउनु मुख्य उद्देश्य रहेको   छ ।