विराटनगर, १७ जेठ । विराटनगर ढुवानी व्यवसायी संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार मोरङको मिक्लाजुङ १ स्थित रमिते डाँडामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष सुशीलकुमार जोशीले ढुवानी व्यवशायीलाई एकढिक्का बनाउन १७ बर्ष अघि संस्था स्थापना गर्दाको क्षण आज गर्व गर्न लायक बनेको अनुभव सुनाउनुभयो । उहाँले अहिले पनि राज्यले ढुवानी व्यवशायलाई हेर्ने नजरमा परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।
ढुवानी व्यवशायी महासंघका पूर्वकेन्द्रीय अध्यक्ष सन्तबहादुर डुम्जनले ढुवानी व्यवसायलाई मर्यादित पेशा बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । संघका सल्लाहकार मेघराज सिग्देलले एक क्षेत्रमा दर्ता भएको व्यवशायले अर्काे क्षेत्रमा गएर काम गर्दा त्यस क्षेत्रको व्यवशायी मारमा पर्ने भएकोले यसबारे बिचार गर्नुपर्ने धारणा राख्नुभयो ।
ट्रक व्यवसायी संघ इटहरीका अध्यक्ष विद्यापति उपाध्याय, ईटहरी ढुवानी एजेन्ट संघका अध्यक्ष केशव गिरी, नेपाल पत्रकार महासंघ कोशीका पूर्वअध्यक्ष विक्रम लुइँटेललगायतले ढुवानी व्यवसायलाई व्यवस्थित र सम्मानित पेशाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसक्षेत्रलाई राज्यले सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने धारणा राखेका थिए ।
उनीहरूले ढुवानी व्यवसाय सञ्चालनमा देखिएका कर, सडक यातायात तथा प्रशासनिक झन्झटहरू हटाई व्यवसायलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । उनीहरुले व्यवसायीहरूले आफ्ना कमी–कमजोरी सुधार गर्दै संस्थालाई समाजकै उत्कृष्ट र अनुकरणीय संस्थाका रूपमा विकास गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष सोमप्रसाद भट्टराई (शम्भु) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव युवराज श्रेष्ठ तथा कोषाध्यक्ष केशव कार्कीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ ।