प्रतिनिधिसभा निर्वाचनमा प्रति मतदाता खर्च २६३ रुपैयाँ

विराटनगर ११ जेठ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण,निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

निर्वाचन आयोग, नेपालद्वारा आज विराटनगरमा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरुले प्रदेशभरिका मतदान केन्द्रहरूमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालनमा आएका चुनौती र त्यसको समयमै गरिएको समाधान निर्वाचन सफलताको रूपमा रहेको बताएका  छन् ।

सहभागीहरुले प्रदेशको भौगोलिक रूपमा विकट हिमाली तथा पहाडी जिल्लाहरू देखि सुगम तराईका जिल्लाहरूमा मतपेटिका, मतपत्र पुर्याउन सुरक्षाकर्मीहरुको प्रभावकारी रुपमा परिचालन प्रशासनको महत्पूर्ण कार्य रहेको विचार राखेका छन् ।

निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीले निर्वाचन निश्पक्ष रुपमा रहेको स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले मान्यता भएको प्रतिवेदन दिएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी दिनमा निर्वाचनलाई ‘ग्रिन इलेक्सन’को रुपमा कार्यान्वयन गर्ने धारणा राख्दै सहभागीबाट प्राप्त सुझावलाई आगामी दिनमा सुधार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रतिनिधि सभा निर्वाचन –२०८२ लाई सफल , स्वच्छ एवं भयरहित वातावरणमा सम्पन्न सबैले आआफ्नो क्षेत्रबाट महत्वपूर्ण सहयोग प्राप्त गरेको बताउनुभयो ।

आयोगका सह सचिव कमल ज्ञवालीले यस निर्वाचनमा सबैभन्दा कम मत वदर भएको भन्दै देशका सबै वडामा एक/एक जनालाई मतदाता शिक्षाका लागि खटाइएको जानकारी दिनुभयो । उक्त निर्वाचनमा आयोगले रु चार अर्व ९६ करोड ७८ लाख ३९ हजार ४५ खर्च भएकोमा मतदाता सङ्ख्या एक करोड ७९ लाख तीन हजार ६६९ लाई आधार मान्दा प्रतिमतदाता औसत खर्च रु २६३ भएको सोही अवसरमा जनाइएको छ ।

समीक्षा कार्यक्रममा प्रदेशका १४ जिल्ला निर्वाचन अधिकारहरु, मोरङका निर्वाचन अधिकृत,पर्यवेक्षक, स्यवंसेवक, मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।